बोम्जन गुरुङ :कोरिया स्थित स्याङ्जा परिवारले आउँदो जून महिनाको १ र २ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरी सो कार्यक्रमको आयोजना गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्दर्भ किम्हे/बुसान शाखाका अध्यक्ष आशिष रानाभाटले बताए । मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास थेगु शाखाका कार्यवाहक अध्यक्ष मिलन राना मगरले व्यक्त गरे ।
स्याङ्जा परिवारद्वारा आयोजित उक्त रमाइलो बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलाका लागी ८० हजार कोरियन वोन निर्धारण गरिएको छ । कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन समस्त स्याङ्जाली तथा गैर स्याङ्जाली महानुभावहरुमा आयोजक संस्थाले हार्दिक अपिल गर्दै ईच्छुक व्यक्तिहरुले आफूलाई पायक पर्ने स्थानबाट सहभागी हुने गरी संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गरेर यथासक्य छिटो नाम टिपाई सहयोग गर्नुहुन समेत अनुरोध गरेको छ ।









