दक्षिण कोरियामा जारी पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टोलीलाई ख्यङ्नाम नेपाली समाजले सहयोग गरेको छ। समाजले नेपालबाट प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई न्यानो ज्याकेटसहित विभिन्न उपहार सामग्री हस्तान्तरण गरेको हो।
नेपाली टोलीका ३६ सदस्यलाई लक्षित गरी सञ्चालन गरिएको सहयोग अभियानमार्फत कुल १२ लाख २० हजार वन बराबरका सामग्री संकलन गरी हस्तान्तरण गरिएको समाजले जनाएको छ। उक्त अभियानमा दक्षिण कोरियामा रहेका ४१ जना नेपालीले सहयोग गरेका थिए।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका महासचिव दीपक आचार्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको साहस, मेहनत र समर्पणको प्रशंसा गर्दै जित वा हारभन्दा पनि देशको प्रतिनिधित्व गर्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताए। उनले प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा पनि नेपाली खेलाडीहरूलाई आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा समाजका अध्यक्ष रवि खवाससहित पदाधिकारी तथा सल्लाहकारहरू र नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष हेमन्त गुरुङको उपस्थिति रहेको थियो। नेपाली टोलीका तर्फबाट नेपाल बहिरा ओलम्पिक कमिटीका प्रतिनिधि, प्रशिक्षक तथा खेलाडीहरू सहभागी थिए।
समाजका सहकोषाध्यक्ष केदार अधिकारीले सहयोग अभियानको समन्वय तथा व्यवस्थापन गरेका थिए।
विदेशमा रहेर पनि मातृभूमिको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सहयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको यस अभियानले नेपाली समुदायबीचको एकता, आपसी सद्भाव र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको छ। सहयोग अभियानमा सहभागी सम्पूर्ण नेपालीप्रति ख्यङ्नाम नेपाली समाजले आभार व्यक्त गरेको छ।

Views: 23









