दक्षिण कोरियामा सक्रिय तमू धीं दक्षिण कोरिया ख्याङसाङनाम्दो बुसान शाखाले धादिङ जिल्लाका दुई विद्यालयका विद्यार्थीलाई करिब २ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। संस्थाले पहिलो चरणअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित जलदेवी आधारभूत विद्यालय, चिसोपानी र लामागुरु महादेव विद्यालय, जुरेथुमका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो।
संस्थाका प्रमुख सल्लाहकार गीता सिंह गुरुङ, क्रियाशील सदस्य होम गुरुङ र राजु गुरुङको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
नेपाली कलाकार, गीत तथा संगीतलाई माया गरौँ, बालबालिकाको उज्ज्वल भविष्यका लागि हातेमालो गरौँ भन्ने मूल नारासहित संस्थाले अनाथ, असहाय तथा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले गत फेब्रुअरी १६ मा ‘छ्यांजलो सांगीतिक सौगात कार्यक्रम २०२६’ आयोजना गरेको थियो। बुसान आसपासका विभिन्न संघ–संस्थासँग सहकार्य र समन्वय गरी आयोजना गरिएको उक्त कार्यक्रमबाट प्राप्त सहयोग तथा आम्दानीलाई शैक्षिक सामग्री वितरणमा उपयोग गरिएको संस्थाले जनाएको छ।
संस्थाका वर्तमान अध्यक्ष प्रवेश गुरुङका अनुसार यो पहिलो चरणको सहयोग कार्यक्रम हो। आगामी दिनमा पनि सहयोग अभियानलाई निरन्तरता दिँदै अन्य जिल्लाका विद्यालय तथा विद्यार्थीहरूसम्म सहयोग विस्तार गरिनेछ।
कार्यक्रम सफल बनाउन साथ, सहयोग र समर्थन गर्ने विभिन्न संघ–संस्था, कार्यक्रममा उपस्थित भई सहयोग गर्ने दर्शक तथा संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूप्रति अध्यक्ष गुरुङले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
संस्थाले पहिलो चरणको सहयोगपछि पनि आगामी दिनहरूमा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।










