गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समुदायलाई लक्षित गरी शनिबार सउलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्।
अपेक्षाभन्दा बढी सेवाग्राहीको उपस्थिति भएपछि निर्धारित समयभन्दा ढिलोसम्म शिविर सञ्चालन गर्नुपरेको आयोजकले जनाएको छ। सहभागीको चापलाई मध्यनजर गर्दै राति ८:३० बजेसम्म स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।
दक्षिण कोरियामा रहेका नेपालीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा वैध तथा अवैध दुवै प्रकारका भिसा भएका नेपालीलाई बिना भेदभाव निःशुल्क सेवा प्रदान गरिएको थियो।
एनआरएनए दक्षिण कोरियाले नेपाली समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रत्येक दुई महिनामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। संघकी अध्यक्ष पार्वती मोक्तानका अनुसार आगामी शिविरको मिति सम्बन्धमा सार्वजनिक सूचना जारी गरिनेछ।
प्रवासमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने उद्देश्यसहित सञ्चालन हुँदै आएको यस अभियानले दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास गरिएको छ।



Views: 31









