दक्षिण कोरियामा E-7-4 भिसामा रहेका विदेशी कामदारले आफ्नो परिवारलाई आश्रित भिसामा कोरिया बोलाउने प्रक्रिया थप कडा हुने भएको छ। सन् २०२७ जनवरी १ देखि F-3-74 आश्रित भिसाका लागि आवेदन दिँदा कोरियामा रहेका E-7-4 भिसाधारकले कोरियन भाषा सम्बन्धी योग्यता प्रमाणित गर्ने कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने नयाँ व्यवस्था लागू हुने भएको हो।
काठमाडौंस्थित कोरिया भिसा आवेदन केन्द्र (KVAC) ले नोभेम्बर २७ मा जारी गरेको सूचनाअनुसार E-7-4 भिसाधारकलाई आमन्त्रित व्यक्ति (Inviter) बनाएर F-3-74 आश्रित भिसाका लागि आवेदन दिने आवेदकहरूले अब भाषा योग्यताको प्रमाणसमेत पेस गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार कोरियामा रहेका E-7-4 भिसाधारकले निम्न तीनमध्ये कम्तीमा एउटा प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
१. TOPIK: कोरियन भाषा प्रवीणता परीक्षा लेभल २ वा सोभन्दा माथिको प्रमाणपत्र।
२. KIIP: कोरियन अध्यागमन तथा एकीकरण कार्यक्रम लेभल २ पूरा गरेको प्रमाणपत्र।
३. KIIP Pre-Assessment: पूर्व-मूल्याङ्कनमा लेभल ३ वा सोभन्दा माथिको स्तर निर्धारण भएको प्रमाणपत्र।
उक्त व्यवस्था सन् २०२७ जनवरी १ देखि लागू हुने भएकाले त्यसपछि आश्रित भिसाका लागि आवेदन दिने E-7-4 भिसाधारकहरूले आवेदनअघि नै भाषा योग्यताको प्रमाण तयार गर्नुपर्नेछ।
नयाँ नियमले E-7-4 भिसामा रहेका र भाषा सम्बन्धी योग्यता हासिल नगरेका व्यक्तिहरूलाई परिवार कोरिया ल्याउने प्रक्रियामा थप चुनौती सिर्जना गर्न सक्ने देखिएको छ। अब परिवारलाई F-3-74 आश्रित भिसामा बोलाउन भाषा योग्यताको प्रमाणसमेत अनिवार्य हुने भएपछि आवेदन प्रक्रिया अघि बढाउनुअघि आवश्यक तयारी गर्नुपर्नेछ।
KVAC ले सम्बन्धित आवेदकहरूलाई आवेदन पेस गर्नुअघि आवश्यक कागजात तयार गर्न आग्रह गरेको छ।


Views: 34









