आखिर मेरो देशमा कहिले होला सुनौलो घाम उदाउने
हामी छोरी मान्छे स्वतन्त्र भई हिड्न पाउने
बिना कुनै भय, बिना कुनै डर, केवल आफ्नै रहर
पुग्छ त्यति भए आफैमा ठूलो भर
सोच्नेछु त्यो दिन आफ्नै रैछ यो गाउँ अनि सहर
न्याय जिउँदै छ, आशा जिउँदै छ, आत्म जिउँदै छ
सास मात्रै गएको त होनि, सपना जिउँदै छ जहर पिउँदै छ
न्याय हामीसँगै छ मैले पढ्ने पुस्तकमा देख्या
साँच्चै उनीहरूले नपाएको न्याय कस्तो पो हुन्छ,
हामीले देख्या न्याय त निर्जीव बनी पुस्तकमै छ
रूप फेरि आउँछ दानव, हामीलाई उठाई लान
छैन मेरो आशमा बसेकालाई छोडी जान
भन्छ आफ्नै मान, सबै राम्रै ठान
मनै छैन जान कतै, बसेका होलान् घरमा खाना नखाई
छोरी आउने आशमा, के थाहा उनलाई छोरी आउँछे बाँसमा
यस्तै छ समाज, व्यस्त छ समाज, हुदैछे ऊ एकोहोरी
हरेक दिन डरै डरमा बाँच्न विवश छे ऊ कमल सरी
समाज काँचुली फेर्दै छ, न्यायको बाटो छ हेर्दैछ,
आशा छ खुसी फर्की आउँछ, गुमेका सपना बोकी छ
अँध्यारो यो दिन पनि शान्तिको दियो देख्दै छ
कविता लेख्दै छ, घाउहरू सेक्दै छ, दुःखहरू यस्तै छ
सपना छैन ठूलो मेरो, नारीहरू सुरक्षित भए,
मानवसरी जीवन जिउन पाए,
हरेक दिन सुनौलो घाम उदाए
खुसी हुनेछन् सबै निर्मलाहरुले न्याय पाए !!
-झरना दुलाल