दक्षिण कोरियामा यातायात क्षेत्रमा लामो समयदेखि जनशक्ति अभावको सामना पुर्ति गर्न विदेशीहरूलाई माउल(ग्रामीण) बस चालकको रूपमा कोरिया ल्याउनुपर्ने सियोल शहर सरकारले माग गरेको छ।
माउल बसहरू विशेष गरि कोरियामा स्थानीय क्षेत्र भित्रका बासिन्दाहरूलाई नजिकैका प्रमुख बस स्टपहरू र सबवे स्टेशनहरूमा जोड्नका लागि धेरै छोटो मार्गहरूमा सञ्चालन हुन्छन्। हाल कोरियामा लामो समयदेखि बस चलाउने श्रमिक अभावका कारण विदेशी चालक ल्याउनु पर्ने माग गर्दै आएको छ । उक्त अभावको पुर्ति गर्ने हेतुले सियोल महानगरपालिकाले (E-9) भिसाको दायरा विस्तार गर्न अक्टोबर २८ मा सरकारी नीति समन्वय कार्यालय (OPC) लाई आग्रह समेत गरिसकेको छ। सामान्यतया E-9 भिसा भएका हरुले सुरुमा ३ वर्षको भिसा पाइरहेको छन् भने विदेशी चालकहरूको हकमा भने काम अवधि तीन वर्षबाट पाँच वर्ष बढाउन पनि सिफारिस गरेको छ। ओपीसीले नीतिगत सिफारिसलाई समीक्षाका लागि रोजगार तथा श्रम मन्त्रालयमा पठाएको बताइएको छ ।

पछिल्लो समय कोरियामा माउल बस चालकहरूको उमेर बढ्दै गएकाले माउल बस चलाउने जनशक्ति अभाव भइरहेको छ। यदि श्रम मन्त्रालयले यो वर्ष भित्र चालकको लागि पनि E9 भिसाको समस्या समाधान गर्यो भने, अर्को वर्ष पाइलट प्रोजेक्ट सुरु हुने अपेक्षा गरिएको छ। श्रम मन्त्रालयले शहरी बस यातायात उद्योगका लागि आवश्यक पर्ने योग्यता, सीप र कामको प्रकृतिलाई ध्यानमा राखी भिसाको विषय लाई ध्यानपूर्वक समीक्षा गर्ने बताएको छ । हाल कोरियाले E-9 भिसामा उत्पादन, कृषि, पशुपालन, मत्स्यपालन र अन्य उद्योगहरूमा लिदै आइरहेको छ।


अहिले पनि (H-2) भिसा वा ओभरसिज कोरियन (F-4) भिसा मार्फत विदेशीहरूले बस चालकको रूपमा काम गर्न सम्भव छ तथापि, सियोलको माउल बस चालकहरूमा विदेशीहरूको सङ्ख्या 2 प्रतिशत भन्दा कम छ। (योनहाप)









