प्रमोद गिरी हिरोसिमा। जापानमा अप्रिल २९ देखि गोल्डन विक शुरु भएको छ । यो बिदा मे ५ सम्म चल्छ । योसँगै घुमफिर अनि घरपरिवारलाई घुम्न जान निस्कनेहरुको भिडभाड चारैतिर देखिन थालेको छ ।
कोभिडका कारण लगाइएको प्रतिबन्धहरु तीन वर्षमा पहिलो पटक पूरै हटेको छ । यस्तोमा रेल स्टेशन, एक्सप्रेसवे, विमानस्थललगायत सबै सार्वजनिक सवारी साधनहरुमा शनिबार बिहानैदेखि मानिसको भिड छ ।

गोल्डन विक जापानमा सबैभन्दा लामो सार्वजनिक छुट्टीमा पर्दछ । गएको महीना भएको एक सर्वेक्षणमा यस पटकको गोल्डन विकको बिदामा जापानीहरुले सालाखाला ३९ हजार २९४ येन खर्च गर्ने योजना बनाएको बताएका थिए । यस पटक बिदामा २ करोड भन्दा धेरै घुमफिरमा निस्कने अनुमान गरिएको छ ।
गोल्डन विक नेपालीहरुका लागि भने कागलाई बेल सरह हुने गरेको छ । जापानमा रहेका ९९ प्रतिशत नेपालीहरु रेष्टुराँ आदिमा काम गर्छन् । अधिकांश नेपालीहरु यति बेला नियमित समयमा जस्तै काममा जान्छन् । उनीहरुले गोल्डन विक, नयाँ वर्षमा मात्रै होइन नेपाली वा जापानकै अन्य चाडपर्वमा पनि बिदा पाउँदैनन् । औंलामा गन्न सकिने केही कम्पनी/व्यक्तिले मात्रै एकाध दिन बिदा दिने गरेको पाइन्छ ।









