दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उपायमा देखिएको अन्योल र अव्यवस्थाको जिम्मेवारी लिँदै आइतबार राजीनामा दिएका छन्। राष्ट्रपति ली जे-म्युङले उनको राजीनामा एक घण्टाभित्रै स्वीकृत गरेका छन्।
कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर परीक्षामा नक्कल हुन सक्ने आशंकापछि शिक्षा मन्त्रालयले परीक्षाको केही दिनअघि मात्रै नियमहरू पटक–पटक परिवर्तन गरेको थियो। सुरुमा स्मार्ट चस्मामाथि केन्द्रित सुरक्षा व्यवस्था पछि अन्य आधुनिक विद्युतीय उपकरणसम्म विस्तार गरिएको थियो। परीक्षा हुन दुई दिनअघि थप ८ हजार ४०० कर्मचारी परिचालन गर्ने निर्णय गरिएको थियो भने परीक्षा सुरु हुन एक दिनअघि आफ्नै मार्किङ पेन, इरेजर र करेक्सन टेपजस्ता सामग्री लैजानसमेत प्रतिबन्ध लगाइएको थियो।
अन्तिम समयमा भएका नियम परिवर्तनले विद्यार्थी, परीक्षा निरीक्षक र परीक्षा केन्द्रहरूको तयारीमा समेत समस्या सिर्जना गरेको थियो। मन्त्री चोईले संसदीय सुनुवाइका क्रममा एआईमार्फत हुने नक्कल रोक्न आफू विश्वस्त नभएको अभिव्यक्ति दिएपछि उनको आलोचना थप चुलिएको थियो।
यस घटनापछि सत्तारूढ र विपक्षी दल दुवैले मन्त्रालयको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। विपक्षी दलले घटनाको विस्तृत छानबिन गरी जिम्मेवार अधिकारीमाथि कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न माग गरेको छ।
Views: 24









