शेर्पा सङ्घ दक्षिण कोरियाले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला पुल प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत बुसान शाखालाई उपलब्ध गराउने भएको छ। संस्थागत एकता र शाखाहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले सङ्घले उक्त निर्णय गरेको हो।
आकस्मिक राहत कोषलाई मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको आय–व्यय विवरणअनुसार कुल ६६ लाख २७ हजार कोरियन वोन आम्दानी भएको थियो। प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा ५३ लाख ५६ हजार वोन खर्च भएपछि १२ लाख ७१ हजार वोन बचत भएको सङ्घले जनाएको छ।
बचत भएको कुल रकममध्ये आधा अर्थात् ६ लाख ३५ हजार ५ सय वोन शेर्पा सङ्घ दक्षिण कोरिया बुसान शाखालाई प्रदान गरिने अध्यक्ष दोर्जे शेर्पाले जानकारी दिएका छन्। बाँकी रकम संस्थाको उद्देश्यअनुसार उपयोग गरिने जनाइएको छ।
सङ्घका अनुसार यो सहयोग केवल आर्थिक हस्तान्तरणमा सीमित नभई संस्थाका विभिन्न शाखाहरूबीच आपसी सद्भाव, सहकार्य र अपनत्वको भावना अभिवृद्धि गर्ने प्रयाससमेत हो।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियामा आबद्ध विभिन्न जातीय संस्थाहरू, सहयोगी संघसंस्था, संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्य, खेलाडी, प्रायोजक, सहयोगदाता तथा सञ्चारकर्मीप्रति सङ्घले आभार व्यक्त गरेको छ। साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद दिएको छ।
Views: 24









