दश वर्षसम्म दक्षिण कोरियाको एउटै कम्पनीमा निरन्तर मेहनत गरे । कम्पनीका साहुले “E-7 भिजा बनाइदिन्छु, किन जान्छस् नेपाल? यतै बस” भनेर कयौँ पटक आग्रह गरे । स्थायी करियर र सुरक्षित कमाइको आकर्षक प्रस्ताव पनि आयो। तर घनेन्द्र माबोले अन्तिममा एउटा निर्णय लिए — विदेश होइन, अब आफ्नै देशमा लगानी गर्ने।
स्वदेश फर्किएको केही महिनामै उनले करिब १ करोड रुपैयाँ लगानी गरेर कापी उद्योग स्थापना गरे। अहिले घनेन्द्र पहाडका चार जिल्लामा आफ्नै उत्पादन बोकेर हिँड्छन्। बजार विस्तार मात्रै होइन, हजारौँ ग्राहकसँग प्रत्यक्ष भेटघाट र चिनजानले उनलाई स्वदेशमै उद्यमी जीवनको नयाँ आनन्द दिएको छ।
“देशभित्र घुम्न, आफ्नै मानिससँग भेट्न, आफ्नै उत्पादन बेच्नको मज्जा विदेशमा कहिल्यै पाइँदैन,” घनेन्द्र भन्छन्।
दैनिक व्यापारको दौडाहाबाट गर्दा उनी साँझ घर फर्कंदा बाबुआमा र बालबच्चासँग बसेर खाने उनको दैनिकी नै जीवनको सबैभन्दा ठूलो सुख हो।
राती श्रीमतीको अँगालोमा बेरिएर सुत्न पाउनु — उनका अनुसार, विदेशले कहिल्यै दिन नसक्ने अनमोल खुशी हो।
विदेशमा कमाएको पूँजीलाई स्वदेशमै रोजगारी र सम्भावनामा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश आज उनी खुलेर दिन्छन्—
“जवानी छँदै स्वदेश फर्कौँ, बचतलाई व्यवसायमा लगाऔँ। हामी विदेशमा वर्षौं रगत–पसिना बगाउँछौँ, तर भोली आफ्नै छोराछोरी फेरि विदेशिनु नपरोस्। उनीहरूलाई घरको जग होइन, राम्रो व्यवसायको जग हालिदिऔँ।”
घनेन्द्र माबोको कथा परदेशमा रहेका हजारौँ युवाका लागि प्रेरणा बनेको छ—
‘अवसर विदेशमै होइन, निर्णय गर्ने आँट भए देशमै पर्याप्त छ।’










