बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशन यही आउँदो मे २५ तारिकमा हुने भएको छ । संस्थाले आफ्नो तेश्रो कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै गरेकोले विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने भएकोले किम्हे सहरको (경남 김해시 서상동 27-3) New little india Resturent 2nd floor हलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाको दोश्रो शाखाको रुपमा सन् २०१८ मा स्थापित यस संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको शाखा अध्यक्ष गीतासिंह गुरुङले बताए । विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै कोरियामा आफ्नो जातीय अस्तित्व कायम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको तर्क सोही शाखाका सचिव हेमन्त गुरुङले स्पष्ट पारे ।
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा चौथो अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण संस्था सम्बद्ध शुभचिन्तक, ख्यङ्साङ् क्षेत्रका विभिन्न संघसंस्था साथै कोरियावासी तमू दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय सहभागिताका लागि आयोजक संस्थाले अनुरोध गर्दै हार्दिक निमन्त्रणा गरेको छ ।









