सेवाग्राहीहरूबाट दूतावास खुला–बन्दबारे धेरै फोन कल र सन्देश प्राप्त भइरहेको भन्दै सिओलस्थित नेपाली दूतावासले २०८२ सालका लागि सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। दूतावासले आपतकालीन अवस्थाबाहेक तल उल्लेखित दिनबाहेक अन्य दिनमा दूतावास नियमित रूपमा खुला रहने जानकारी गराएको छ।
सूचीअनुसार २०२५ अप्रिल १४ (बैशाख १ गते) का दिन नेपाली नयाँ वर्षका अवसरमा दूतावास बन्द हुनेछ। यसैगरी जुन ३ मा हुने दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचन, जुन ६ मा कोरियाको स्मृति दिवस, अगष्ट १५ मा राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा पनि दूतावास बन्द रहनेछ।
नेपालको संविधान दिवस (सेप्टेम्बर १९), घटस्थापना (सेप्टेम्बर २२), दशैं बिदा (सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म), कोरियाको चुसोक (अक्टोबर ६ र ७), तिहार (अक्टोबर २१ देखि २३) का दिन पनि दूतावासले सेवा प्रदान गर्ने छैन। त्यसैगरी डिसेम्बर २५ मा क्रिसमस, २०२६ जनवरी १ मा नयाँ वर्ष, फेब्रुअरी १६ र १७ मा कोरियाली चाड ‘सोल्नाल’ का दिन दूतावास बन्द हुने जनाएको छ।
दूतावासले शनिबार र आइतबारलाई नियमित बिदा मान्ने भएकाले सो दिन पनि कार्यालय बन्द रहने स्पष्ट पारेको छ। सेवाग्राहीहरूले दूतावास आउनु अघि सार्वजनिक बिदाको मिति ध्यानमा राख्न आग्रह गर्दै, आपतकालीन अवस्थामा भने छुट्टै सुविधा प्रदान गरिने दूतावासले जनाएको छ।










