सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर आपत्ति जनाउँदै आयोजक संस्थाले प्रेस विज्ञप्ति निकालेको छ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रममा कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रमको मर्म विपरीत सो समूहले गरेको आपत्तिजनक गतिविधि प्रति संस्थाको प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा कुनै पनि भूमिका नरहेको प्रष्ट पार्दै आयोजक संस्थाले विज्ञप्ति निकाली उक्त गतिविधिलाई सामाजिक सञ्जालमा अतिरञ्जित नगरिदिनुहुन र अपलोड गरिएको भिडियो सामग्री हटाइदिन अनुरोध समेत गरेको छ।
सयौँ दर्शकहरूको बीचमा सम्पन्न कार्यक्रममा को कस्ता व्यक्तिहरू उपस्थित भएका छन् र उनीहरुले गरेका क्रियाकलापहरु के कस्ता हुन्छन् भन्ने विषयमा आयोजक संस्थाले ध्यान पुर्याउन नसकेको र यस्ता गतिविधिहरूप्रति आगामी दिनमा सचेत रहने आयोजक संस्थाले विज्ञप्ति मार्फत प्रतिबद्धता समेत गरेको छ।










