दक्षिण कोरियामा छुसकको अवसरमा आयोजना गरिएको ‘सिरिजंगा सांगीतिक सौगात भाग–५’को आर्थिक प्रतिवेदन आज सउल दोङ्देमुन स्थित पूर्वी नेपाल समाजको सभाहलमा एक कार्यक्रम गरि सार्वजनिक भएको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३औँ कार्यसमिति तथा सल्लाहकार समितिको आयोजनामा सन् २०२६ सेप्टेम्बर २६ तारिख सउलमा सम्पन्न कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरिएको हो।
कार्यक्रममा नेपालबाट आमन्त्रित गायक एकदेव लिम्बु तथा उनको ब्याण्ड, गायिका मेचु धिमाल र कार्यक्रम सञ्चालिका तथा अभिनेत्री सिर्जना निङ्लेखुको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार हरुको साथमा स्थानीय कलाकार हरुले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
आज सार्वजनिक आर्थिक प्रतिवेदनअनुसार कार्यक्रमको कुल आम्दानी ५ करोड ८७ लाख २५ हजार वन र कुल खर्च ४ करोड २६ लाख १८ हजार ५९० वन रहेको छ। यसअनुसार कार्यक्रमबाट १ करोड ६१ लाख ६ हजार ४१० वन बचत भएको देखिन्छ।
प्रतिवेदनमा टिकट बिक्री, व्यक्तिगत तथा संस्थागत सहयोग, प्रायोजन र विभिन्न समितिबाट प्राप्त सहयोगलाई आम्दानीमा समेटिएको छ। त्यस्तै कलाकारको पारिश्रमिक, हवाई टिकट, होटल, प्रचारप्रसार, मञ्च तथा ध्वनि व्यवस्थापन, यातायात र अन्य व्यवस्थापकीय शीर्षकमा भएको खर्चको विवरणसमेत सार्वजनिक गरिएको छ।
यसैबीच, कार्यक्रम हुनुअघि आयोजकले ‘सिरिजङ्गा सांगीतिक सौगात–भाग ५’ को प्रत्येक टिकटबाट २ हजार कोरियन वन भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने घोषणा गरेको थियो। तर सार्वजनिक आर्थिक प्रतिवेदनमा उक्त राहतका लागि छुट्याइएको रकम वा सहयोग हस्तान्तरण गरिएको विवरण स्पष्ट देखिँदैन।
कार्यक्रमबाट एक करोड ६१ लाख वनभन्दा बढी बचत भएको विवरण सार्वजनिक भए पनि बाढीपीडितका लागि प्रत्येक टिकटबाट संकलन गरिने भनिएको रकम कति भयो, कुल कति रकम सहयोग गरिनेछ र उक्त रकम कहिले तथा कुन माध्यमबाट हस्तान्तरण गरिनेछ भन्ने विषय भने सार्वजनिक हुन बाँकी छ। यसबारे आयोजकबाट थप जानकारी आउन बाँकी रहेको छ।









