दक्षिण कोरियाको बुसानमा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को ग्रान्ड शो आयोजना हुने भएको छ। तमू धीं दक्षिण कोरिया, ख्याङ्साङ्नाम्दो बुसान शाखाले विपद् राहत सहयोगार्थ आगामी नोभेम्बर १५ तारिख खिम्हे, बुसानमा चलचित्र प्रदर्शन गर्न लागेको हो।
कबड्डी सिरिजको बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ अक्टोबर २३ देखि नेपाललगायत विश्वका विभिन्न देशमा प्रदर्शनमा आएको छ। नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढिरहेका बेला कोरियामा रहेका नेपालीमाझ पनि चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ।
विपद् राहत सहयोग गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त ग्रान्ड शोमा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक निमन्त्रणा गरेको छ।
आयोजकका अनुसार चलचित्र प्रदर्शन नोभेम्बर १५ तारिख खिम्हे, बुसानमा हुनेछ। चलचित्र प्रदर्शनमार्फत मनोरञ्जनसँगै सामाजिक सेवामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तमू धीं दक्षिण कोरिया, ख्याङ्साङ्नाम्दो बुसान शाखा परिवारले नेपाली चलचित्रलाई माया गर्ने सम्पूर्ण दर्शकलाई कार्यक्रममा उपस्थित भई सहयोग गरिदिन आग्रह गरेको छ।









