दक्षिण कोरियामा नेपाली मौलिक खेल डन्डीबियोको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान विस्तार गर्ने उद्देश्यले दक्षिण कोरियामा पहिलो पटक प्रथम सिन्धुपाल्चोक डन्डीबियो कप–२०२६ आयोजना हुने भएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर ८ तारिख आइतबार किम्पो विश्वविद्यालय (김포대학교), दक्षिण कोरियामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
‘हाम्रो खेल, हाम्रो पहिचान, डन्डीबियो हाम्रो शान’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढिरहेको आयोजकले जनाएको छ। प्रतियोगिता नोभेम्बर ८ तारिख बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न खेलमैदानको अवलोकन तथा आवश्यक व्यवस्थापकीय तयारीसमेत अघि बढाइएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख वन पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई ५ लाख वन प्रदान गरिनेछ। त्यस्तै, सर्वाधिक बियो प्रहार र सर्वाधिक ट्याकतर्फ जनही १ लाख वन पुरस्कारको व्यवस्था गरिएको छ। नेपाली मौलिक खेलप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभाको पहिचान र खेलाडीबीच आपसी एकता, सहकार्य तथा सद्भाव अभिवृद्धि गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रत्येक टोलीमा पाँच जना नियमित र दुई जना अतिरिक्त गरी कुल सात जना खेलाडी रहने व्यवस्था गरिएको छ। प्रत्येक टोलीका लागि दर्ता शुल्क १ लाख ६० हजार वन तोकिएको छ। प्रतियोगितामा दुई मिनेटको दौड (नकआउट) प्रणाली अपनाइनेछ भने १८ टोली सहभागी हुने व्यवस्था रहेको छ। प्रत्येक खेल २० मिनेटको हुनेछ र फाइनल खेल ३० मिनेट सञ्चालन गरिनेछ।
खेलका मुख्य विशेषताअन्तर्गत टस जित्ने टोलीले डन्डी वा बियो छान्न पाउने, पाँच ब्याट्सम्यान र पाँच फिल्डर रहने तथा जोन १ देखि ४ सम्मको सुरक्षित क्षेत्र निर्धारण गरिने व्यवस्था समावेश छन्। बियो क्याच, ट्याक, रनआउट र सीमा बाहिर आउटसम्बन्धी नियम लागू हुनेछन्। प्रतियोगिताको नियम पुस्तिका कार्यक्रमस्थलमा उपलब्ध गराइने आयोजकले जनाएको छ।
खेलाडीको सुरक्षालाई प्राथमिकता दिँदै हेल्मेट, पञ्जा तथा प्राथमिक उपचार सामग्रीको व्यवस्था गरिनेछ। मैदानको मार्किङ टेप तथा आवश्यक उपकरण आयोजकले उपलब्ध गराउनेछ भने खेलाडीको बीमा र सुरक्षालाई समेत प्राथमिकता दिइनेछ।
प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता र सहकार्य बढाउनुका साथै नेपाली परम्परागत खेलको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली खेलप्रेमी, संघसंस्था तथा शुभचिन्तकलाई प्रतियोगितामा सहभागी भई साथ, सहयोग र उत्साहजनक समर्थन जनाउन आग्रह गरेको छ।
मिति: २०२६ नोभेम्बर ८, आइतबार
समय: बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म
स्थान: किम्पो विश्वविद्यालय (김포대학교), दक्षिण कोरिया
पुरस्कार राशि: प्रथम — १० लाख वन, द्वितीय — ५ लाख वन, सर्वाधिक बियो प्रहार — १ लाख वन र सर्वाधिक ट्याक — १ लाख वन।
नेपाली मौलिक खेलको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपालीहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।
Views: 59









