दक्षिण कोरियाको ह्वासोङ–मादो क्षेत्रमा कार्यरत, स्थायी घर मोरङ भएका तामाङ थरका एक नेपाली युवकले आत्महत्या गरेको दुःखद घटना बाहिरिएको छ।
घटना आज २०२५ डिसेम्बर ९ दिउँसो करिब १ बजे ह्वासोङ–सी मादो–म्योन् दुपूरि २३७ स्थित मोजिदो (모지더) नजिकको जंगल क्षेत्रमा भएको हो। साना रूखका हाँगामा स्कार्फ झुण्ड्याइएको अवस्थामा युवकलाई एक स्थानीय नागरिकले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएसँगै अपराध अनुसन्धान टोली, वैज्ञानिक प्रमाण पहिचान टोली तथा सम्बन्धित अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीले स्थल परीक्षण, फरेन्सिक जाँच र प्रारम्भिक प्रमाण संकलनका साथै युवक कार्यरत कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई बयानका लागि बोलाएर अनुसन्धान अघि बढाएको छ।
मोरङ घर भई ह्वासोङ–मादोमा रोजगारीमा रहेका उक्त युवकले यस्तो कठोर निर्णय किन लिनुपर्यो भन्ने विषयमा अझै स्पष्टता आइसकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस घटनाले कोरियास्थित नेपाली समुदायलाई अत्यन्त पीडित बनाएको छ। समुदायले मानसिक तनाव, निराशा तथा एक्लोपनका अवस्थामा सहारा खोज्न र एक–अर्कालाई भावनात्मक रूपमा साथ दिन सबैलाई आग्रह गरेको छ।









