कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्–दक्षिण कोरिया तथा नेपाली विद्यार्थी समाज (SONSIK) दक्षिण कोरियाले संयुक्त रूपमा एक ‘वृहत अन्तरक्रिया कार्यक्रम’ आयोजना गर्ने भएको छ।
आगामी डिसेम्बर ७, २०२५ (आइतबार) दिउँसो १२:०० बजेबाट सुरु हुने उक्त कार्यक्रम 서울특별시 종로구 창신길 51, 5층 (창신동) मा आयोजना हुनेछ।कार्यक्रममा प्राध्यापक, श्रमिक प्रतिनिधि, विद्यार्थी तथा विभिन्न पेशागत क्षेत्रका सरोकारवाला व्यक्तिहरूको सहभागिता रहनेछ। कोरियामा रहेका नेपालीहरूले कार्यस्थल भित्र–बाहिर सामना गर्दै आएका कानुनी, श्रम, भिसा, रोजगार अधिकार तथा जिम्मेवारीसम्बन्धी जटिलताहरूबारे खुलाप्रत चर्चा गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा कानुनी व्यवसायी, सम्बन्धित विशेषज्ञ र सरोकारवालाहरू उपस्थित हुने भएकाले, जो–कोही नेपालीले आफूले वर्षौँदेखि सामना गर्दै आएको तर सम्बन्धित निकायसम्म पुर्याउन नसकेको समस्या प्रत्यक्ष रूपमा उठाउन, सल्लाह लिन तथा समाधानका उपायहरूबारे मार्गदर्शन पाउन सक्नेछ। आवश्यक परेमा विशेषज्ञहरूबाट थप सहयोग र परामर्श पनि प्रदान गरिनेछ।
एनआरएनए दक्षिण कोरिया र SONSIK का अनुसार, यो कार्यक्रम ज्ञान, अनुभव, कानुनी जागरुकता र आपसी सहकार्य बढाउने उद्देश्यले आयोजना गरिँदैछ। कोरियामा रहेका सम्पूर्ण नेपालीलाई गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ।










