सरकारलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो

सोल,दक्षिण कोरिया-
ईपिएस प्रणाली मार्फत नेपाल
सरकारबाट श्रम स्विकृती लिई दक्षिण कोरियामा वैधानिक रुपमा बसोवास गरी रोजगार गरिरहेका नेपाली श्रमिकको कुनै कारणवस मृत्यु भएमा उक्त मृतकको शव नि:शुल्क स्वदेश फर्काउनु पर्ने माग राख्दै विभिन्न संघ-संस्था तथा कोरियामा रहेका नेपाली समुदायले नेपाल सरकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन ।
करीब डेढ महिना पहिले दक्षिण कोरियास्थित नेपाली राजदुतावास मार्फत नेपाल सरकारका सम्बन्धित निकायहरुलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराईएपनी त्यसको कुनै सुनुवाई नभएपछी फेरी दोस्रो ज्ञापनपत्र शुक्रबार प्रधानमन्त्री कार्यालयमा पुगी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको हो ।
एउटा मृतकको शव नेपाल पुर्याउन १२ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने गरेको छ। दुतावासले करिब् साढे पाँच लाख रुपैयाँ मात्र उपलब्ध गराउँदै आएकोमा अन्य अपुग रकम मृतक परिवारले जोहो गर्नुपर्ने, त्यसो नभए मृतकको शव बेवारिसे झैं अलपत्र पर्ने गरेको छ। यसरी एउटा शव नेपालसम्म पुर्याउन लाग्ने खर्चको आधाभन्दा कम खर्च मात्रै उपलब्ध हुनेगरेको हुँदा सम्पूर्ण खर्च नेपाल सरकारलाई बेहोर्न ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराईएको हो ।

यसरी संयुक्त ज्ञापन पत्र बुझाउने संस्थाहरुमा एन. आर. एन.ए. दक्षिण कोरिया शाखा , नेपाल पत्रकार महासंघ कोरिया शाखा,नेपाल आदीवासी जनजाती महासंघ दक्षिण कोरिया, नेपाली जनसम्पर्क समिती दक्षिण कोरिया, जनप्रगतीशील मंच दक्षिण कोरिया र प्रवासी नेपाली मंच दक्षिण कोरिया रहेका छन । ज्ञापन पत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका निवर्तमान अध्यक्ष रन्जनराज कुँवर , जनसम्पर्क समीति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्री साथै एनआरएनए कोरियाका पुर्व उपाध्यक्ष यदु लामिछानेको प्रत्यक्ष उपस्थिती रहेको थियो ।










