दक्षिण कोरियामा रोजगारका लागि आवश्यक कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गरेका आवेदकहरूले रकम फिर्ता लिन सक्ने भएका छन्।
ईपीएस कोरियन शाखाले आज प्रकाशित सूचना अनुसार रकम फिर्ता पाउनका लागि प्रमाणित कागजातसहित निवेदन दिनुपर्नेछ। दोहोरो भुक्तानी भएका आवेदकहरूले ७ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ।
शाखाका अनुसार डबल तिरेको रकममध्ये केही रकम सम्बन्धित वालेट खाता वा बैंक खातामा फिर्ता पठाइसकिएको छ। बाँकी रकम पनि आवेदकले समयमै निवेदन दिएको खण्डमा फिर्ता गरिनेछ।
यस्तै, सन् २०२५ को कोरियन भाषा परीक्षाका लागि साउन २६ गतेदेखि ३१ गतेसम्म फाराम भर्ने क्रममा भएका त्रुटि सच्याउने काम सकिएको शाखाले जनाएको छ। अनलाइन आवेदन दर्ता गर्दा प्राविधिक कारणले प्रवेश पत्रमा नाम वा थर अपुरो आएका विवरण पनि सच्याइसकिएको जानकारी सूचनामा उल्लेख गरिएको छ।

Post Views: 364









