दक्षिण कोरियाका श्रम तथा रोजगार मन्त्री किम यङ-हुनले विदेशी कामदारमाथि सम्मानजनक व्यवहार गर्न स्पष्ट निर्देशन दिएका छन्।
अगस्ट ८ मा उत्तर जिओल्ला प्रान्तको वान्जु–गुनस्थित एक कृषि फार्म निरीक्षण गर्दै उनले,
“‘야’, ‘야이’ वा ‘너’ जस्ता अपमानजनक सम्बोधन नगरी उनीहरूको नाम लिएर बोलाउनुस्” भन्ने आग्रह गरे।
हालै विदेशी कामदारमाथि दुव्र्यवहार, विभेद र मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गएको पृष्ठभूमिमा मन्त्रीको यो अभिव्यक्ति आएको हो।
निरीक्षणका क्रममा मन्त्री किमले कामदारहरूको बासस्थानमा जाडो–गरमी नियन्त्रण सुविधा,
गर्मी लहरका पाँच आधारभूत सुरक्षा नियमको पालना, र कार्यस्थलको अवस्था समेत अनुगमन गरे।
साथै उनले “नाम लिएर बोलाउने अभियान” सुरु गर्ने घोषणा गरे।
रोजगारी अनुमति प्रणाली (Employment Permit System) अन्तर्गतका सबै कामदारलाई कोरियन भाषामा नाम लेखिएको नेम ट्याग वितरण गर्ने योजना मन्त्रालयले अघि सारेको छ।
मन्त्रीको भनाइमा, “नामले सम्बोधन गर्नु सम्मानको सुरुवात हो, र सम्मान नै स्वस्थ कार्य वातावरणको आधार हो।”









