कोरियाको नेपालस्थित राजदूत पार्क ताए-यङ (박태영) ले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर बिश्व नाथ पौडेलसँग भेटवार्ता गर्दै दुई देशबीचको वित्तीय तथा मौद्रिक क्षेत्रको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल गरेका छन्।
भेटका क्रममा दुबै पक्षले कोरियन सेन्ट्रल बैंक (Bank of Korea) र नेपाल राष्ट्र बैंक बीच हालसम्म कायम रहेको सहकार्यलाई सकारात्मक रुपमा मूल्यांकन गरे, र यो सम्बन्धलाई आगामी दिनहरूमा थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
कोरियाली केन्द्रीय बैंकले विकासोन्मुख राष्ट्रहरूका केन्द्रीय बैंकसँग “Knowledge Partnership Program (KPP)” मार्फत अनुभव तथा नीतिगत सल्लाह प्रदान गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गत केन्द्रीय बैंक सम्बन्धी विशेष ज्ञान, वित्तीय प्रणालीको विकास अनुभव र प्रविधिमार्फत नेपाल जस्ता देशहरूसँग निरन्तर सहयोग हुँदै आएको छ।
प्रत्येक वर्ष कोरियाली केन्द्रीय बैंकका अधिकारीहरू नेपाल आएर राष्ट्र बैंकसँग संयुक्त सेमिनार तथा विविध कार्यक्रममा सहभागी हुने र दुवै संस्थाबीच नियमित ज्ञान आदानप्रदान र प्रविधि हस्तान्तरण भइरहेको बताइएको छ।
गभर्नर पौडेल र राजदूत पार्क दुवैले यस्तो सहकार्यले नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध मात्र होइन, नेपालको वित्तीय प्रणालीको सबलीकरणमा पनि उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे।









