विशाल आवाज:विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले यहि जुलाई २६ तारिखका दिन सउलमा बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक कार्यक्रम गर्ने भएको छ।
दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपाली समुदायबीच बृहत् अन्तरक्रिया गरि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नका लागि:(NRNA-NCC) दक्षिण कोरियाले जुलाइ २६ तारिख शनिबारका दिन दिउँसो ३ बजे दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा पत्रकार सम्मेलन गर्ने भएको हो।
कार्यक्रम संघको पछिल्लो अवस्था, वैधानिकता, तथा समाजमा फैलिएको विभिन्न भ्रमलाई चिर्न तथा स्पष्ट पार्नका लागि आयोजना गरिएको आयोजकले जनाएको छ। समाजका विभिन्न सम्मानित व्यक्तित्व, एनआरएन अभियन्ता तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गरी सत्य, विधि र संघको वैधानिक पक्ष प्रस्तुत गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ समेत महासचिव अजय सोडारीले बताएका छन्। यति मात्रै नभएर सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबाट सुझाव र सल्लाह प्राप्त गरी आफ्ना जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउने पनि संघको तयारी रहेको सोडारी बताउँछन्।
२०२५-२०२७ का लागि निर्वाचित कार्यसमितिले आफ्नो कार्यकालमा गर्न सक्ने योजनाहरु समेटिएको प्रतिबद्धतापत्र पनि सार्वजनिक गर्ने भएको हुदा यस महत्वपूर्ण कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण संघ-संस्थाका प्रतिनिधि,सक्रिय नेपाली राजनीतिक दलका प्रतिनिधिहरू,सञ्चारकर्मीहरू,श्रमिक वर्ग,विद्यार्थी,
तथा एनआरएन अभियन्ता लगायत दक्षिण कोरियाबासी नेपाली सम्पूर्णमा आयोजकले उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ।









