नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल बागमती प्रदेशको अध्यक्षमा भक्तपुरका नरेश रञ्जित चयन भएका छन् । भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न पहिलो प्रदेश सम्मेलनको बन्द सत्रबाट रञ्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी चयन भएका छन् । यस्तै सचिवमा प्रदीप तामाङ ङेमासङ निर्वाचित भएका छन् ।
सहसचिवका रूपमा विष्णु नेगी, अर्जुन तामाङ, सुदीप केसी, विकास श्रेष्ठ, सनम महर्जन (जनजाति) र प्रीति तामाङ (महिला) चयन भएका छन् भने रोमी घले कोषाध्यक्ष बनेका छन् ।
नवअध्यक्ष रञ्जित यसअघि वाईसीएलका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज थिए। उनी माओवादी केन्द्रको मध्यपुर थिमि नगर उपाध्यक्ष पनि हुन् ।

सम्मेलनमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ द्वारा प्रस्तुत प्यानल सर्वसम्मत रूपमा पारित भएपछि निर्वाचन आयोगले प्रक्रिया पूरा गरी नतिजा सार्वजनिक गरेको हो ।
बन्द सत्रमा माओवादी केन्द्रका नेताहरू हितमान शाक्य, हितबहादुर तामाङ, दिलीप प्रजापति र सूर्य सुवेदी ‘पथिक’ लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले सोमबार गरेका थिए। सम्मेलनमा ४०० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए ।
नव निर्वाचित अध्यक्ष रञ्जितले संगठनलाई थप सुदृढ बनाउने र युवालाई राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय बनाउने प्रतिवद्धता जनाएका छन् ।










