नुवाकोट । नुवाकोटको ककनी गाउँ पालिका २ मा माओवादीले बिरासत फर्काएकाे छ। ककनी–२ मा उपनिर्वाचन अन्तर्गत भएको मतदानको मतगणना अनुसार नेकपा माओवादी केन्द्र विजयी भएको हाे।
गत २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवार तीलकबहादुर लामासँग थोरै मतले पराजित भएका माओवादी केन्द्रका ३८ वर्षीय कृष्ण घिमिरे मिलन विजयी भएका छन् । गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो । मत परिणाम अनुसार नुवाकोटको ककनी–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार घिमिरे झण्डै दोब्बर मतले विजयी भएका हुन् । सो वडामा दुईहजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको थियो । ५१ मत वदर भएको छ । गत २०७९ को निर्वाचनमा भने घिमिरेले कांग्रेसकै तीलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए । २ हजार २ सय ५५ मतगणनामा घिमिरे १ हजार ८५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुर्य तामाङले ५ सय ८७ मत मात्रै पाएका छन् । ३१ महिना अगाडि विजयी कांग्रेसका तीलक लामाले ८ सय ८८ मत प्राप्त गरेका थिए भने घिमिरेले भने ७ सय ४३ मतमै चित्त बुझाएका थिए । नेकपा एमाले का उम्मेद्वार यमबहादुर लामाले ३ सय ६६ मत प्राप्त गर्दै तेस्रो भएका छन् । रास्वपाका मंगलसिद्धी तामाङले ८३, राप्रपाका खेमबहादुर थापाले २८ र समाजवादीका मानबहादुर लामाले २३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ककनीले जनाएको छ । ककनी २ मा वडाध्यक्ष पदका लागि ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए ।
कुल तीनहजार एकसय ७३ जना मतदाता रहेको सो वडामा दुई हजार दुइसय ५५ जनाले मत खसालेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । ककनी २ मा गत २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीका केदार पौडेल वडाध्यक्षमा विजयी भएका थिए । सो वडामा यस पटक उपनिर्वाचनवाट माओवादीले जित फर्काएको हो ।











