अन्तरक्रिया कार्यक्रममा खास म उहाँहरुको कुरा सुन्नै भनेर आएको थिएँ । त्यहाँ कमजोरी चाहीँ वक्ताहरुको सुचि एकदमै धेरै भयो । यद्यपी मैले त्यसलाई कसरी हेरेको छु भने त्यो हलमा आ आफ्नो शैलीमा फरक फरक वक्ताहरुले त्यो हलले सोचेको लगभग सबैजसो विषयहरु समेट्नु भएको छ । साथै मलाई लिखित रुपमा पनि प्रश्नहरु प्राप्त भएको छ । केही साथीहरुले आफ्नै शैलीमा व्यक्त गर्ने कुराहरु मात्र छुटे होलान् । तर मुख्य गरी त्यहाँ उठेका २ किसिमका विषयहरु छन् । एउटा देशसँग जोडिएको कुरा छ । नेपालको विकास कहिले हुन्छ, हामीले नेपाल कहिले फर्किन पाउँछौं । हामीले नेपालमै रोजगारीको अवसर कहिले पाउने भन्ने विषय जुन संसारभरि रहेका नेपालीहरुकै विषय हो । अर्को चाहीँ कोरियासँग सम्वन्धित विषयहरु छन् । नेपाल एयरलाइन्स चल्ने विषयदेखि लिएर अरु महत्वपूर्ण विषयहरु छन् । जुन युवाहरुले प्रत्यक्ष रुपमा सवाल गर्न नपाउनु भए पनि कुनै न कुनै रुपमा उहाँहरुको भावना बुझ्ने मौका मिल्यो भन्ने मलाई लाग्छ ।
मैले प्रतिवद्धता जनाएका विषयहरुमध्ये नेपाल एयरलाइन्सको कोरिया सिधा उडान सम्वन्धि विषय एकदमै महत्वपूर्ण रहेको छ भन्ने लाग्छ ।
त्यसमा त मैले नेपाल कोरियाको दौत्य सम्वन्ध स्थापनाको ५० औं वर्षगाँठकै अवसरमा नेपाल एयरलान्इसको कोरिया उडान गर्नका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु भनेर बोलेको छु । मेरो प्रतिवद्धता पुरा गर्नको लागि मैले कुन निकायमा पुगेर भन्ने, कहाँ गएर दबाव दिने ति सबै कामहरु गर्न इमान्दार भएर लाग्नेछु । त्यो एउटै कामले मात्र पनि कोरियाको पर्यटक नेपाल भित्र्याउने कामहरु देखि लिएर त्यसले पार्ने आर्थिक, सामाजिक प्रभाव निकै अहम् रहने विश्वास लिएको छु ।

सामाजिक सञ्जालमा ट्रोल बनाउने, गाली गलौज गर्ने विषयहरुमा चाहीँ दुइवटा पक्ष छ । यहाँ कोरियामा मात्र नभएर नेपालमा पनि प्रत्येक दिन त्यसको सामना गरेरै बसेको अवस्था हो । एउटा अहिलेको हाम्रो वर्तमान राजनीतिक व्यवस्थाप्रति राजनीतिमा हाल क्रियाशील रहेको हामी सबैप्रतिको आक्रोशमा म मात्र अलग रहन सक्ने कुरा रहेन । म आफैं एउटा ठूलो राजनीतिक दलको महत्वपूर्ण जिम्मेवारीमा छु । अरुलाई आक्रोश हुन्छ भने मप्रति पनि हुने नै भयो । अर्कोचाहिँ बिगत केही वर्षहरुदेखि मेरो सन्दर्भमा अलिकति प्रायोजित र संगठित पनि रहेको छ । यसलाई फेरि म अन्यथा रुपमा लिन्न । किनभने म विषयवस्तु उठानको हिसाबले पनि र जिम्मेवारीको हिसाबले पनि आफूलाई पछाडि नपारिकन उठाउँदै आएको हुनाले कोही न कोही मसँग रिसाइरहेकै हुन्छ ।
जस्तो अहिले रास्वपाका समर्थकहरु मसँग भयानक रुपमा रिसाइरहेको अनुमान लगाउन सक्छु ।
केही समयअघि नेकपा एमालेका साथीहरु मसँग रिसाएका थिए । कतिपय कुराहरु प्रायोजितर संगठित छन् भने कतिपय कुराहरु स्वाभाविक पनि हुन्छन् ।
मेरो एउटामात्र पोइन्टचाँही सामाजिक सञ्जालमा सामान्य टिकाटिप्पणी गरेकै आधारमा पाँच वर्षसम्मको जेल सजाय हुन सक्ने कानुन प्रस्तावित थियो । त्यो कानुन कुनै पनि बेला दाहोरिएर आउन सक्छ ।
मचाँही त्यो कानुन बनाउनु हुँदैन भनेर लडेर आएको । त्यसले के हुन्छ भने मान्छेको अभिव्यक्ति स्वतन्त्रता प्रकारान्तले खोस्छ । त्यसैले म अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडिरहेको हुनाले र म अभिव्यक्ति स्वतन्त्रताको पक्षपोषक भएकोले मान्छेले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै गर्दा त्योसँग मुल्य जोडिएर आएको हुन्छ । त्यसको मुल्य मैले पनि चुकाउनुपर्छ भन्ने मलाई लाग्छ ।
म प्रश्नदेखि त कहिले पनि भाग्दै भाग्दिन । मेरो त्यो क्यारेक्टर हुँदै होइन । कुनै कुनै प्रश्न जुन आफूलाई अनावश्यक लाग्छ असान्दर्भिक लाग्छ, त्यसको जवाफ नदिए पनि हुन्छ भन्ने लाग्छ । त्यो स्वाभाविक पनि हो । प्रश्नबाट भागेको दिन त राजनीति नै सकिइहाल्यो नि । तपाइले प्रश्न गरेको सन्दर्भमा चाँहि म यतिबेला नेपाली काँग्रेस प्रतिपक्षमा नै रहोस् भन्ने चाहान्थे । मेरो प्रयासले मेरो बलले हुने भए म त्यहीँ राख्थे । नेकपा एमाले, माओवादी र नयाँ पार्टी मिलेर जुन सरकार चलाइरहेको अवस्था थियो त्यो चलोस् भन्ने चाहाना थियो । तर परिस्थिति मैले भनेको जस्तो भएन । नयाँ सरकार बनेसँगै अवसर पनि छ जोखिम पनि छ । एकदमै धेरै ठूलो जोखिम छ । हामीले अहिले सरकार सञ्चालन गर्न गइरहेको निर्णय गर्ने अग्रज नेताहरुलाई भन्ने गरेको कुराहरु तपाइहरुले गरेको निर्णयको पक्षपोषण गर्न पाइयोस् न । तपाईले गरेको निर्णयको वकालत गर्न पाइयोस् अनि पो मजा आउँछ ।
दिनरात तपाईहरुले गलत काम गर्ने अनि हामीले त्यसको ढाकछोप गर्ने परिस्थिति बन्यो भने त स्वाभाविक रुपमा त्यसले हामीलाई रक्षात्मक बनाउँछ । तर फेरि म लगायत हाम्रो थुप्रै साथीहरुको नेचर पनि कस्तो छ भने हामी गलत कामको ढाकछोप पनि गर्न सक्दैनौं । गर्न मनले पनि मान्दैन । त्यस्तो अवस्था आयो भने अझ बढि अप्ठ्यारो परिस्थिति बन्छ । एकातिर सरकारमा हुन्छौं सडकबाट नागरिकहरुले हामीलाई पनि प्रश्न गरिरहेका हुन्छन् । तर निर्णय गर्ने ठाउँमा हामी हुँदैन ।
अहिले सरकारले गरेको केही निर्णयहरु हेर्दाखेरी प्रदेश प्रमुख नियुक्तिको होस्, चाहे प्रदेश सरकार गठनको निर्णय होस वा राजदूत नियुक्तिको होस् । यो भन्दा फरक ढंगले हुन सक्थ्यो ।
यो भन्दा बढि जनताको चित्त बुझाउने ढंगले गर्न सकिन्थ्यो । भएन नि त । यसलाई ढाकछोप गर्ने कि प्रश्न गर्ने हामी पनि अलमलमा हुन्छौ । त्यसैले सरकार गठनसँगै जोखिम पनि छ र अवसर पनि ।
कार्यक्रमको विषय नै नेपालको आर्थिक एवम् लोकतान्त्रिक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप र उर्जाको सदुपयोग भन्ने रहेको थियो । त्यही अनुरुप कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको सीप तथा पूँजीको प्रयोग गरेर नेपालमा सिर्जना गर्न सकिने रोजगारीका अवसरहरु पहिल्याउने कामहरु पनि गर्नुपर्नेछ । त्यसमा पनि हामीले नेपालबाट कसरी समन्वय गरेर कामहरु गर्न सक्छौ भन्ने बारेमा अध्ययन हुनेछ । यस पटकको कोरिया भ्रमणले म निकै उत्साहित छु र आशावादी पनि ।

बिशाल आवाजको लागी सरोज खड्काले गरेको कुराकानीमा आधारित









