विशाल आवाज: “प्रवासमा नेपाली एकता सामाजिक कार्यको हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित ख्यङ्जु नेपाली समाजले TB रोग लागि अस्पताल भर्ना भएका ख्यङ्जु फुलगुग्सा मा कार्यरत दीपक तामाङलाई सहयोग स्वरूप ३ लाख कोरियन वन हस्तान्तरण गरेको छ।
ख्यङ्जु वरपर रहेका नेपाली साथीभाइहरूलाई सहयोग गर्नु संस्थाको कर्तव्य ठानी समाजकै सदस्य दीपक तामाङलाई टिभी रोग लागेर एक महिना अस्पताल भर्ना भई डिस्चार्ज हुनुभएको र झन्डै तीन चार महिना उपचार गर्दै आराम गर्नुपर्ने भएकोले ख्यङ्जु समाजको तर्फबाट केही रकम सहयोग गरेको संस्थाका अध्यक्ष नारायणबहादुर खड्काले जानकारी दिनुभयो। विदेशमा बस्दा पनि किन सङ्घसंस्था चाहियो यिनीहरूको के काम हो र भन्ने जस्तो गलत व्याख्या गर्नेहरूको लागि समयसमयमा यसरी संघसंस्थाले नेपालीहरुलाई भैपरि आउने समस्यामा सहयोग गरी गलत साबित गर्दै आइरहेको छ।
ख्यङ्जु नेपाली समाजले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग हातेमालो गर्दै सामाजिक कार्य तथा खेलकुद विकासको लागि साथ सहयोग गर्दै आइरहेको छ।









