वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। तीन वर्षमा आम्दानी १४४ प्रतिशतले बढेको निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
उनका अनुसार आ.व ०७७/७८ मा निगमले ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ र आ.व ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ आम्दानी गरेको छ। आ.व ०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ रहेको पौडेलले बताएका छन्।
हाल निगमको अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा रहेका छन्। हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्न आवश्यक कार्ययोजना बनाउने काम भइरहेको निगमले जनाएको छ।

Post Views: 250










