अन्याङ नेपाली समाज उल्सान, दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर २९ तारिख आइतबार दक्षिण कोरियाको उल्सानमा नेपाली कथानक चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन हुने भएको छ। आपत्कालीन राहतकोष स्थापना तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त प्रदर्शन आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार चलचित्र प्रदर्शन 울산광역시 울주군 삼남읍 울산역로 345 (3층) मा हुनेछ। नोभेम्बर २९ मा हुने प्रदर्शनका लागि दिउँसो १२:३० बजे कार्यक्रम सुरु हुनेछ। 언양시외버스터미널 बाट पैदल हिँडेर करिब ७ मिनेटमा कार्यक्रमस्थल पुग्न सकिने आयोजकले जनाएको छ।
चलचित्रको प्रवेश शुल्क सामान्यतर्फ ३० हजार वन र विद्यार्थीका लागि २५ हजार वन निर्धारण गरिएको छ। टिकट खरिद गर्ने प्रत्येक दर्शकलाई एक बोतल मिनरल वाटर निःशुल्क उपलब्ध गराइनेछ। उक्त चलचित्र प्रदर्शनबाट प्राप्त सहयोग रकम आपत्कालीन राहतकोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा JB Bank Consultant की प्रतिनिधि सुष्मा स्याङतान र SentBe Remittance का प्रतिनिधि प्रदीप खड्काको विशेष उपस्थिति रहनेछ। उनीहरूबाट बैंकिङ तथा वित्तीय परामर्श, रेमिट्यान्स सेवा, दर्ता प्रक्रिया तथा नेपालमा कुमारी बैंकको खाता खोल्नेसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ। त्यस्तै, The Kathmandu Restaurant का सञ्चालक तथा उल्सान नेपाली समाजका अध्यक्ष कृष्ण महर्जनको सहयोगमा चलचित्र प्रदर्शनका क्रममा मःमलगायतका परिकारहरूको स्वाद लिन सकिने व्यवस्था रहनेछ।
कार्यक्रमको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा गोर्खाली डटकम, विशाल आवाज डटकम, BJ Vlogger/Photographer/Youtuber विजय पुन मगर तथा YATRI The Explorer का विरेन लामाको सहयोग रहने आयोजकले जनाएको छ।
चलचित्र उपलब्ध गराई सहयोग गर्ने Film Distribution – तमूधि दक्षिण कोरिया तथा कार्यक्रम सफल बनाउन सहकार्य गर्ने तमूधि ख्याङसाङनाम्दो–बुसान, उल्सान नेपाली एकता समाज र ख्यङजु नेपाली एकता समाजप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।
नेपाली चलचित्रप्रति दक्षिण कोरियामा नेपाली दर्शकको आकर्षण बढिरहेका बेला सामाजिक तथा मानवीय उद्देश्यसहित आयोजना हुन लागेको यस विशेष प्रदर्शनमा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले उल्सान तथा आसपासका क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली समुदाय, चलचित्रप्रेमी र शुभेच्छुकहरूलाई हार्दिक अनुरोध गरेको छ।










