नेपाल भलिबल संघ, दक्षिण कोरियाको आयोजनामा सम्पन्न ‘चौथो नेपाल–कोरिया भलिबल कप २०२६’ को महिला प्रतियोगितामा म्याग्दीका दुई टोलीले प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा मोना म्याग्दीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थानसहित उपाधि जित्न सफल भयो भने मंगला म्याग्दीले द्वितीय स्थान हासिल गर्यो। महिला विधामा दुवै उपाधि म्याग्दीका टोलीले हात पार्न सफल भएपछि प्रतियोगितामा म्याग्दीको वर्चस्व देखिएको छ।
दक्षिण कोरियाको सुवनस्थित AJOU University Volleyball Stadium मा आयोजित प्रतियोगितामा महिला खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए। प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने दुवै टोलीका खेलाडीहरूले आफ्नो खेल कौशल र मेहनतमार्फत सफलता प्राप्त गरेका हुन्।
प्रतियोगितापछि आयोजक तथा सहभागी पक्षले उपाधिका लागि उत्कृष्ट खेल प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी दिदीबहिनीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, खेल मैदानमा उपस्थित भएर खेलाडीहरूलाई हौसला तथा साथ–समर्थन प्रदान गर्ने सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोग र समर्थनको अपेक्षा गरिएको छ।
नेपाल भलिबल संघ, दक्षिण कोरियाद्वारा आयोजित यस प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र खेलकुदप्रतिको उत्साह अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।









