दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले सुदूरपश्चिम समाज दक्षिण कोरियाको समन्वय तथा सुदूरपश्चिम समाज बुसानको आयोजनामा बृहत् भेटघाट, देउडा सांस्कृतिक तथा बनभोज कार्यक्रम–२०२६ आयोजना हुने भएको छ।
कार्यक्रम आगामी अगस्ट १५ र १६ गते आयोजना गरिने आयोजकले जनाएको छ। सुदूरपश्चिम समाज बुसानका अध्यक्ष केशव जोशीका अनुसार कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न देवराज बडुलाई कार्यक्रम संयोजक तथा डा. पनेरुलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
कार्यक्रममा सुदूरपश्चिमका मौलिक परिकारको स्वादसँगै देउडा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछ। साथै, दक्षिण कोरियाभर रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच आपसी चिनजान, अनुभव आदानप्रदान र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रम स्थल, समय र अन्य विस्तृत जानकारी भने केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेको छ।









