दक्षिण कोरियामा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै नवलपुर समाज दक्षिण कोरिया ले निःशुल्क कोरियन भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी अप्रिल महिनाको पहिलो शनिबारदेखि सुरु हुने उक्त कक्षा विशेषगरी E-9 कामदार, विद्यार्थी तथा डिपेन्डेन्ट भिसामा रहेका नेपालीहरूका लागि लक्षित गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा जम्मा ५० जना सहभागीलाई मात्र समेटिनेछ। सहभागी हुन मार्च २५ तारिक सम्ममा फर्म पर्नुपर्ने छ । इच्छुक व्यक्तिहरूले छिटोभन्दा छिटो अनलाइनमार्फत आवेदन दिन आग्रह गरिएको छ। कक्षा ३ महिनासम्म सञ्चालन हुनेछ भने हरेक शनिबार र आइतबार साँझ २ घण्टा कक्षा सञ्चालन गरिने जानकारी दिइएको छ।
यस प्रशिक्षणमा कोरियन भाषाको आधारभूत (Basic) तथा व्याकरण (Grammar) मा विशेष जोड दिइनेछ। साथै, दैनिक कामकाज र व्यवहारमा प्रयोग हुने व्यवहारिक भाषामा केन्द्रित गरिने आयोजकको भनाइ छ।
प्रशिक्षकका रूपमा प्रकाश भारती र नारायण पाण्डे रहनेछन्। आयोजकका अनुसार, भाषा सिकेर काम र दैनिक जीवन सहज बनाउन यो कार्यक्रम उपयोगी हुने विश्वास लिइएको छ।
नवलपुर समाज दक्षिण कोरियाले यस्तो अवसरको अधिकतम सदुपयोग गर्न सम्पूर्ण नेपालीहरूलाई अनुरोध गरेको छ।









