कोरियाबाट जीवन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आर्थिक विभाग सदस्यमा चयन
दक्षिण कोरियामा रहेर लामो समयसम्म नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न हुँदै आएका कोरियाका सफल व्यवसायी जीवन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) मा प्रवेश गर्दै केन्द्रीय आर्थिक विभागको सदस्य मा चयन भएका छन्।
रा.स्व.पाले मिति २०८२ माघ २२ गते पार्टीप्रतिको विश्वास व्यक्त गर्दै थापालाई केन्द्रीय आर्थिक विभाग सदस्यको जिम्मेवारी प्रदान गरेको हो। मोरङ जिल्लाका स्थायी बासिन्दा थापा हाल दक्षिण कोरियामा रहेर व्यवसायसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
यसअघि पनि थापा कोरियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका थिए। पार्टीप्रतिको निरन्तर सहयोग, योगदान र प्रतिबद्धतालाई मूल्यांकन गर्दै उनलाई केन्द्रीय जिम्मेवारी प्रदान गरिएको पार्टी स्रोतले जनाएको छ।
नयाँ जिम्मेवारी ग्रहण गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारिता, ऊर्जा र क्रियाशीलताका साथ पूरा गर्दै मन, वचन र कर्मले पार्टीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रवासी भूमिबाट पनि राष्ट्रिय राजनीतिमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न सकिने उदाहरणका रूपमा थापाको चयनलाई हेरिएको छ। उनको चयनसँगै दक्षिण कोरियामा रहेका रा.स्व.पा. समर्थक, शुभेच्छुक तथा नेपाली समुदायले खुशी व्यक्त गरेका छन्।










