दक्षिण कोरियास्थित नेपाली संस्थाहरू पछिल्लो समय व्यक्तिगत, राजनीतिक तथा व्यावसायिक स्वार्थको अखडा बन्दै गएको आरोप तीव्र बन्दै गएको छ। एनआरएनए कोरिया र नेपाली पत्रकार महासंघपछि अब नेपाली भलिबल संघ कोरिया पनि स्वार्थ समूहको पकडमा पार्न खोजिएको भन्दै गम्भीर विवादमा तानिएको छ।
संस्थाभित्र मुख्य पदहरू नै रिक्त राखेर नियोजित रूपमा चलखेल गरिएको, जसका कारण निर्वाचन प्रक्रिया नै प्रभावित भएको आरोप लागेको छ। अधिवेशनका क्रममा पद बाँडफाँड र उम्मेदवारी प्रक्रियामा राजनीतिक तथा व्यावसायिक स्वार्थ हावी भएको आरोप खुलेर उठेपछि संघ आलोचनाको घेरामा परेको हो। विशेषगरी निर्वाचन कमिटी संयोजकको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। अधिवेशनमै केही पदहरूमा उम्मेदवारी दर्ता गरिसकेपछि, पछिल्लो चरणमा राजनीतिक तथा व्यापारिक स्वार्थ प्रवेश गरेको महसुस भएपछि सम्बन्धित उम्मेदवारहरूले आफैं उम्मेदवारी फिर्ता लिएको जनाइएको छ। यसैगरी सुवनको एक ब्यापारीले स्टेडियममा एकलौटि सिण्डिकेट लाउन प्रयास गरेर आफ्नो स्वार्थको मान्छे कमिटिमा हालेको समेत आरोप लगाइएको छ। निर्णय प्रक्रिया निष्पक्ष नभएको र निश्चित व्यक्तिहरूको पकड कायम राख्ने प्रयास देखिएको भन्दै उनीहरूले यस्तो कदम चालेको बताइएको छ। उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सह-कोषाध्यक्ष लगायत महत्वपूर्ण पदहरूनै खाली गराएर अधिवेसन सम्पन्न गरेका छन। सहभागीहरूले अधिवेशनभित्रै वातावरण बिग्रनु र स्वार्थ हावी हुनु खेलकुद संस्थाको मर्मविपरीत भएको प्रतिक्रिया दिएका छन्।
एनआरएनए र पत्रकार महासंघ हुँदै अब खेलकुद संस्था समेत राजनीतिक प्रयोगको सिकार बनेपछि कोरियास्थित नेपाली समुदायमा तीव्र आलोचना सुरु भएको छ। खेलकुदजस्तो निष्पक्ष र सामूहिक हितसँग जोडिएको संस्थालाई पनि व्यक्तिगत स्वार्थ पूर्तिको माध्यम बनाइएको आरोपले संस्थागत मूल्य र मर्ममाथि नै प्रहार भएको छ।
यस घटनाक्रमले नेपाली संस्थाहरूको विश्वसनीयता, पारदर्शिता र निष्पक्षता माथि गम्भीर प्रश्न खडा गरेको छ। यदि समयमै सुधार र जवाफदेहिता स्थापित नभए, संस्थाहरूप्रति समुदायको भरोसा पूर्ण रूपमा गुम्ने खतरा देखिएको जानकारहरू बताउँछन्।









