नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती तथा शुभ दीपावलीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले अक्टोबर १९ आईतवारका दिन “लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम” आयोजना गर्ने भएको छ।
“काव्य–सुधा” शृङ्खलाको १७६औं संस्करणका रूपमा हुने उक्त कार्यक्रम अक्टोबर १९, २०२५ आइतबारका दिन, साँझ ६:०० बजे (नेपाली समय) फेसबुक लाइभ र जुममार्फत प्रत्यक्ष प्रसारण हुनेछ।
यस विशेष साहित्यिक सन्ध्यामा विनोद परिवर्तित, जनक सन्याल र निर कमल उपाध्यायले कविता वाचन गर्नेछन्। कार्यक्रमको सहजीकरण अनेसास कोरिया च्याप्टरका सदस्य सुधाकर दाहालले गर्नेछन्।
नेपालका महान् कवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजना गरिएको यस कवि–सन्ध्याले कोरियामा रहेका नेपाली साहित्यप्रेमीबीच साहित्यिक संवाद र सिर्जनाको वातावरण थप सशक्त बनाउने अनेसास कोरिया च्याप्टरले जनाएको छ।
साहित्यप्रेमीहरूले कार्यक्रमलाई अनेसास कोरिया च्याप्टरको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्। अनेसास कोरिया च्याप्टरले सबै नेपाली साहित्यप्रेमीहरूलाई फेसबुक लाइभमार्फत जोडिएर कविता श्रवण गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति श्रद्धासुमन अर्पण गर्न हार्दिक अनुरोध गरेको छ।









