कोरियाको प्रहरीले नेपाली श्रमिक तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिट गर्नुका साथै श्रमिकहरुको तलब भुक्तान नगरेको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख १५ गते) पक्राउ गरेको छ ।
प्रवासी श्रमिक युनियन (एमटियु) र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्मका मालिकलाई थप अनुसन्धान गर्न पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न एमटियु र मानव अधिकारवादी संस्थाले चैत २६ गते उजुरी दर्ता गराएका थिए । यो फर्म राजधानी सोलबाट झन्डै ३६० किलोमिटर टाढा छ ।
एमटियुका अध्यक्ष उदय राईले श्रमिकमाथि भएको कुटपिट र तुलसी पुनको आत्महत्याको विषय न्यायिक निरुपणको क्रममा प्रवेश गरेको बताए । उनका अनुसार श्रम कार्यालयको अनुसन्धानबाट बंगुर फर्मका मालिकबाट २५ करोड ९० लाख वान भुक्तान नभइ श्रमिकलाई पिटेर भगाएको खुलेको छ ।
गत फागुन ९ गते माग्दीको मालिका गाँउपालिका–१ निस्कोटका मगर बंगुर फार्ममा आत्महत्या गरेका थिए । उनी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न ६ महिना अगाडि मात्रै कोरिया पुगेका थिए । उनका सहकर्मीहरु लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसी पुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फर्मबाट बाहिर निस्कन चाहेको भिडियो सार्वजनिक गरेका थिए । त्यसको केही दिनमै मगरले आत्महत्या गरेका थिए ।









