विशाल आवाज: फागुन २ गतेबाट विश्वभर एकैसाथ प्रदर्शनमा आएको अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो फेब्रुअरी २३ तारिखका दिन एके प्लाजामा रहेको मेगाबक्समा प्रदर्शन हुने भएको छ।
आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही फेब्रुअरी २३ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।

सुवन प्रदर्शन पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको आयोजकले जनाएको छ।
दीपेन्द्र लामाको लेखन तथा निर्र्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । हिमाल कडरियाले फिल्मको निर्माण गरेका हुन् । नेपालमा रिलिजपछि बनेको ‘हाइप’ हेर्दा फिल्मले कोरियामा पनि राम्रो कमाउन सक्ने छनक देखिन्छ ।











