बारा – हिन्दू परिषद् नेपाल प्रसौनी गाउँ पालिका कमिटीले वीरगंजबाट काठमाडौं र काठमाडौंबाट गौर जाने क्रममा त्रिशूली खोलामा भएको बस दुर्घटना तथा बाढी पहिरोमा ज्यान गुमाएकाहरू प्रति श्रद्धांजलि कार्यक्रम आयोजना गरेको छ।
गत जुलाई १० तारिखका दिन त्रिशूली खोलामा भएको बस दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका थिए भने १० जना अझै बेपत्ता छन्। यो घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको लागि १ मिनेटको मौन धारण गरियो।
कार्यक्रम आज बेलुकी ७:०० बजे, प्रसौनी स्थित घन्टाघरको अगाडि चौकमा सम्पन्न भयो। हिन्दू परिषद् नेपालका अध्यक्ष संजय सर्राफ, केन्द्रीय सदस्य प्रसौनी गाउँ पालिका प्रमुख बिनोद जैश्वाल तथा प्रसौनी गा.पा.कमिटी अध्यक्ष अरबिन्द मोदनवाल लगायत २०० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा संजय सर्राफ प्रसौनी गा.पा.प्रमुख बिनोद जैश्वालले सम्बोधन गर्दै दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।
उनले घटनापछि ६ दिन बित्दा पनि खोजी कार्य पूरा हुन नसकेको राज्यको दुर्भाग्य भएको बताउँदै, त्रिशूलीमा यति धेरै व्यक्तिको ज्यान गुमाएको दिन राष्ट्रिय शोक घोषणा गर्नुपर्नेमा सरकार र नेताहरू कुर्सीको भागबन्डामा व्यस्त भएको आरोप लगाए। साथै, वर्तमानका नेताहरूबाट लोकतंत्र, संविधान र राज्य सुरक्षित नहुने ठोकुवा समेत गरे।









