आज मलाई मातेर पुरै मात्तिन मन छ
सराबको नशामा डुबेर पौडिन मन छ ।
लर्बरिदै बाटोको छेउ देखि भित्ता सम्म रिजर्भ गरेर
ठुल्ठुलो स्वरमा कराउँदै, चिच्चाउँदै
शहर र गल्लीका घर अनि मान्छेहरुलाई
म मातेर मात्तिएको सुनाउन मन छ ।
सडकका दायाँ बायाँ झिमिमिल्ली बत्तीहरुलाई
मेरा अन्धकार कथाहरु सुनाउन मन छ ।
चिल्लो बाटोका बुट्टे फुटपाथमा मिलेका रेलिंगहरु समाउँदै
खस्रो जीवन भोगाई र बट्टारिएका फुस्रा गन्तव्यको वर्तमान सुनाउन मन छ ।
दोहोरी साँझमा चुस्की थपेर
रेडलाईटको गल्लीमा केहि समय विलिन भएर
नाईट क्लबको ढोकाबाट सुप चपाउँदै निस्कन मन छ ।
पैसामा खरिद भएका स्वार्थहरु पलभर मै विलय हुन्छ
भनेर आफैंलाई बुझाउन मन छ ।
हुक्काको फ्लेवरलाई धुवाँको मुस्लो बनाएर उडाउन मन छ ।
ताकि उडेका जवानीका रङ्गहरुले त्यहि धुवाँ हेरेर चित्त बुझाउन सकुन ।
भट्टीमा सराबको चुस्किसँगै मधुरसका बोत्तलहरु खोल्न अनि फुटाउँन मन छ ।
ताकि फुटेका कर्म र भाग्यहरुले सिसाका टुक्राहरु हेरेर चित्त बुझाउन सकुन ।
एउटा सलाईको काटी सल्काएर
आधा आगोले हातको चुरोट
अनि आधा आगोले मनको धुलो सल्काएर
खरानी हुनलाई एक लप्को आगो वा अहंमता नै काफि हुन्छ भनेर आफ्नै मनलाई बुझाउन मन छ ।
बाटोमा लड्दै अनुहारमा चोटहरु बनाएर पिल्सिन मन छ ।
ताकि ह्रदयका घाऊहरुले अनुहारका चोटहरु हेरेर भनुन
आखिर दुनियाँ यस्तै रहेछ ।
भोली पल्ट बिहान उठेर नुन पानीमा कागती निचोरेर ह्याङ ओभर गर्न मन छ ।
ताकि थिचिएर चाउरिएका जीवनका सपना र रहरहरुले रसविहिन कागतीको बोक्रा हेरेर भए पनि आत्महत्या नगरुन ।









