बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू
स्वयं तानाशाहमा बदलिएपछि,
सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू
महासामन्तमा फेरिएपछि—
क्रान्तिले के जित्यो,
र जनताले के पाए?
म यही प्रश्नसँग संवाद गरिरहेको छु।
नवक्रान्तिको फिलिङ्गो
निभिसकेको हो कि,
वा खरानीमुनि अझै सल्किरहेको छ—
भेउ पाएँ भने अवश्य सुनाउनेछु।
अहिलेलाई भने
म समयको क्षितिजभरि
दूर-दूरसम्म नियालिरहेछु।
सबैलाई अधिकार चाहिएको छ,
तर कर्तव्य बोक्ने काँध कम छन्।
सबैलाई छुट मन परेको छ,
तर कर तिर्ने हात थोरै छन्।
विकास चाहिन्छ,
तर कर तिर्न मन छैन।
सेवा चाहिन्छ,
तर जिम्मेवारी स्वीकार्न मन छैन।
संविधानका पानामा
अधिकारका अक्षर खोजिरहन्छौं,
तर कर्तव्यका हरफहरू
आँखाले देखे पनि मनले पढ्दैनौं।
कर तिर्नुपर्दा सरकार चोर देखिन्छ,
छुट बाँडिँदा त्यही सरकार भगवान्।
भाषणमा देश उडिरहेको छ,
आश्वासनमा दौडिरहेको छ।
सामाजिक सञ्जालको पर्दाभित्र
हरेक दिन समृद्धि आइरहेको छ।
यथार्थ अझै पैदल छ,
प्रचार भने जेटमा उडिरहेको छ।
आज प्रश्न सरकारलाई मात्र होइन,
आफ्नै विवेकलाई पनि हो !
हामी कस्तो नागरिक बनिरहेका छौं ?
अधिकारको उपभोक्ता मात्र,
कि जिम्मेवारीको पनि पहरेदार ?
दयाराम निरौला
ईनपा – २, सुम्बेक
हाल दक्षिण कोरिया









