बिसन्चो यात्रा
जब मानिसको जन्म सँगै सुरुहुन्छ संसारलाई नजिकबाट नियाल्ने अनि वातावरण सँग घुलमिल हुने पहिलो पाइला । जीवनको दुख अनि सुखको खुड्किला सँग पौँठेजोरी खेल्न अनि सुरुहुन्छ परेर सिक्ने, पढेर सिक्ने सिकाइका यात्राहरु कति कुरा एक्लोपनले सिकाउँछ, कतिकुरा घरपरिवार, आफ्न्त समाज र परिवेशले सिकाउँछ । हरेक सिकाइका हरफ, बाटो अनि अर्थहरू फरक हुने गर्दछ । यो समाज यति विज्ञ र उत्कृष्ट छ कि कसैको अनुहारको बनावट, आवरण र रंग हेरेर नै उसको अहिलेको अवस्था, परिवेश बताउन सक्छ । यो समाज जतिनै आधुनिकीकरण हुँदै गइरहेको छ तिनै समाजको वर्ग, स्तरको तुलना अनि विभिन्न धारणाहरू धेरै मात्रामा देखापर्नु थालिरहेको छ । जसको फलस्वरुप आफ्नो अवस्था बुझ्दाबुझ्दै पनि अरुको स्तरको दाँजोमा सकीनसकी पुग्नुपर्ने बाध्यता छ । सामान्य खान, लगाउन र खुसीको जीवन बिताउन र आफ्नै परिवार सँग बस्न पाउनु नै आनन्दको जीवन व्यथित गर्नु राम्रो हो तर यो आधुनिक समाजले त्यो मान्दैन र उस्कै दाँजोमा पुगेमात्र समाजमा बस्न लायक ठानिन्छ र गन्तीमा आउँछ । तसर्थ अनेक चुनौति र परिस्थितिसँग हार्ने अधिकार त्यति सहज यो समाजमा छैन । हामी मानिसको आ आफ्नै रहर बाध्यताहरू हुन्छ अनि सपनाहरू, हामी खहरेमा जन्मेर खोला हुँदै, नदि हुँदै समुद्रको सपना अनि समुदाय हुँदै समाज, गाउँ, हुँदै शहरको सपनाहरू पुरा गर्न लागिरहन्छौ यो सबै पछ्याउनु कसैको रहर हुनसक्छ त कसैको बाध्यता अनि यो सबै पुरा गर्न कसैले घर त कसैले देश छोड्नुपर्ने हुन्छ । हामी मानिस कहिल्यै आफ्नो विरासत र हैसियत लाई फर्केर तुलना गर्दैनौ, जे छ त्यसमै रमाउन चाहँदैनौ अरुको सुख, खुसी, रमाईलो हरुलाई मात्र नियाली रहन्छौ अनि आफू पनि त्यही बन्न र बनिन चाहन्छौ र देखाउन चाहन्छौ जुन हाम्रो समाजले त्यही चाहन्छ । यही समाजमा बस्नको लागि एक छाक हसिलो मुहारले खादै गरेको खाना, परिवार सँग रमाइलो गरि बिताईरहेको दिन सबैलाई माया मारेर विदेशिनु कसैको रहर अनि कसैको बाध्यता बन्न सक्छ ।
परिवारले, आफन्तले अनि समाजले देखेको अनि भन्ने गरेको राम्रो काम, राम्रो जागिर, राम्रो कमाई अझै भनौँ छन्दखन्दको जागिर छाडेर अहिले म परदेसिएको एक बर्स हुन लागेछ । कोही आफै, कोही परिवार, कोही आफन्त, कोही समाज र कोही देशको कारण परदेश आँउछन् म भने आफ्नै कारणले परदेसिएको हुँ । मैले लगभग एक दशक एक दुई ओटा संस्थाहरूमा आबद्ध भएर शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, अधिकार र सँरक्षणहरुमा काम गर्दै सामाजिक कार्यकर्ता भएर व्यतीत गरे त्यो क्रममा धेरै किसिमका मानिसहरू सँगको सँगतले धेरैकुरा सिक्ने र सिकाउने क्रम रह्यो । धेरैकुरा सिके र केही कुरा सिकाएको छु त्यसको फलस्वरुप आज एउटा ठिक्कको जीवनलाई व्यवस्थापन गरिरहेको छु । मलाई सरकारी जागिर तिर मन नलागेको पनि हैन तर यो सामाजिक क्षेत्र तिर लागेपछि धेरैकुराको चाँजोपाँजो नमिल्नु र एउटा गतिलो लत लागेपछि चाहेरपनि त्यो क्षेत्रतिर जान नसकिँदो रहेछ आज परदेशिनु पनि त्यो अर्को कारण हुनसक्छ । सबै मानिसको जस्तै मेरो पनि परिवार बढ्न थाल्यो, खुसी, चाहाना, सपना अनि आर्थिक व्यवस्थापन बढ्न थाल्यो सँगै औसत उमेर पनि बढ्न थाल्यो त्यो सबै पुरा गर्न मैले जुन क्षेत्रमा कर्म गरिरहेको थिए ठिकै थियो तर भविष्यमा बिस्तारै सवै कुराको अपुग होलाकी भन्ने महसुस हुन थाल्यो । सहज बसाइ र खुसीको दैनिकी पुगेपनि भविष्यमा चाहिने आवश्यकताहरू र सपना हरुलाई क्रमैसँग समेटेर लैजान नसकिने महसुस गरे सँगै परदेसिने निर्णय गरेको हुँ । मैले एकपटक सन् २०१९ तिर ताका नै परदेशिनु मन गरेर त्यो छन्दखन्दको जागिर छोडेर राजधानी छिरेको थिए तर त्यस ताका मलाई अर्को जागिरको ठिकैको अफर र यता पनि पास हुन्छु भन्ने एउटा आशाले गर्दा जागिर तिर समय दिन थाले भने पढाईमा कम, त्यो बेला जागिर त भयो तर परदेशिने सपना अधुरै रहन गयो । मेरो जागिरको क्रममा पोखरा बसाइ हुन थाल्यो केही समयपछि विश्वभरि फैलिदै आइरहेको कोरोना महामारी नेपाल मा नि देखापरेसँगै मैले केही महिनाको पोखरा बसाइ बिट मारे त्यो बेलाको महामारी त छँदै थियो त्यसमा मानिसले अझ फैलाएको एकखालको परिस्थिति र वातावरणले झन पीडादायक थियो । त्यो कोरोना महामारी अहिले सम्झँदा नमिठो लाग्छ कति दयनीय दिनहरू देखियो, भोगियो भाग्यवस भनौँ म र परिवारमा त्यो महामारीले केही असर चाहि गर्न सकेन र आउँदा दिनहरूमा पनि केही नगरोस् कामना गर्दछु । त्यो कोरोना कहर केही साम्यहुदै जान थाले पछि फेरी घर पायकको संस्थामा काम गदै घरपरिवार सँग समय बिताउदै आए । केही समय पछि मनमा उस्तै सोच त्यही सबै सपनाहरू अनि केही गर्नुपर्छ अथवा फेरी कोसिस गर्नेपो होकि भन्ने लागेपछि मलाई फेरी परदेसिने मन हुन थाल्यो र कार्यालयको समय पछि एक दुई वटा इन्स्टिच्युटहरू सँगको सहकार्यमा अनलाइन कक्षा लिन सुरु गरे त्यसको केही समयपछि परीक्षामा सामेल नतिजा राम्रो नै आयो । तरपनि कार्यालयको सूचनाको अन्तिममा लेखिएको शब्द सायद धेरैलाई याद होला पास हुनु भनेको कोरिया जानु हैन यो शब्दले मनमा कताकता छोईरहन्थ्यो बेलाबेलामा । पास गरेको केही समयपश्चात् प्रकृयाहरू सुरुहुन थाल्यो त्यो सबै प्रकृयाहरू आफैले पुरा गर्नै गएँ, पास हुने सबैलाई सायद त्यस्तो हुन्छ नै होला जुन मलाई नी हुन सामान्य नै थियो । हरेक प्रकृया पछिको डर अब के होला ? कसो होला ? प्रकृया अगाडि जालाकी नजाला, त्यसपछि के होला ? फेरि अर्कै प्रकृया आउँछ फेरी त्यस्तै डर पैदा हुन्छ । यसरीनै तीनचार महिनाजति बितेपछि अन्तिम प्रकृयामा आइपुगेँ सायद अहिले सम्झिँदा मेरो प्रकृया छिटो नै भएको रहेछ जस्तो लाग्यो । अव भने अलिक ढुक्कसाथ अन्तिम उडानको समय कुर्दै मैले मेरो कार्यालयको पद र जिम्मेवारीहरू नयाँ साथीलाई हस्तान्तरण गर्दै लामो समयसम्म जीवन सिकाउने र जीवन चलाउने कर्मलाई अन्तिम बिट मार्दै सवै सँग बिदा भए । कार्यालयको हस्तान्तर प्रकृया अलिक ढिलो भएको र मेरो उडानको समय छिटो भएकोले घर मा परिवार सँग एक हप्ताको समयपनि दिन सकिन अहिले सम्झिँदा खल्लो लागेर आउँछ । सधैँ घरमै बसेर कार्यालयको जिम्मेवारी निभाएको भएता पनि कहिले तालिम कहिले कार्यक्रम त कहिले अनुगमन गर्दै फुर्सदिलो समय दिन सकिरहेको थिइन । उडानको सूचनामा नाम भेटिएपछि घरको अति छोटो बसाइलाई सकाउँदै कार्यालयको केही कागजपत्रको काम सकाउनुपर्ने र बिट मार्नुपर्ने भएकोले म घरमा परिवार सँग बिदा मागेर राजधानी तीरको यात्रा सुरु गरे । पहिलो परदेश, घरपरिवार छोड्नुको पीडा, परिवारले अनुहार बिगारेर गरेको बिदा, आफैले थामेर हिँडेको आशु अझै सम्झना छ । पहिला कार्यालयको काम सके पश्चात परदेशिनुको लागि आवश्यक जहाजमा बस्ने टिकट, बेचिने श्रम, मान्छे नरहेपनि पैसा रहने बिमाहरुको काम सकाएर उडान हुने दिनको अघिल्लो दिनको कोभिड परीक्षणको राम्रो कामना सहित दिनहरू व्यतीत गरिरहे । मनमा धेरै डर अनि थोरैमात्र उत्साह थियो । अघिल्लो दिन कोरोना परीक्षणको दिन आयो अचानक त्यो दिन बिहान बाट मलाई अलिअलि टाउको भारी भैरहेको थियो र अलिअलि नाक पनि बन्द भएको थियो सायद राजधानी बाहिरको भएर होला वातावरण सँग घुलमिल हुन सकिरहेको थिइन । त्यही पनि सूचनाको आधारमा आफ्नो नाम भएको अस्पताल तिर गए लाइन को पछाडि उभिएर बुझाउनुपर्ने पैसा बुझाए कुपन लिएर परीक्षणको लागि फेरि लामो लाइनमा उभिए धेरै समय पश्चात बल्ल पालो आयो अनि रगत सँगै कोरोना परिक्षण सकियो ।
कोठा फर्के मनमा फेरि अर्को डर कोरोना परिक्षण राम्रो आए भोलिपल्ट उडान नभए फेरि पन्ध्र दिन कुर्नुपर्ने । घरपरिवार सबै सँग बिदा मागेर राजधानी छिरेको मान्छे । फेरि सम्झे पास हुनु भनेको कोरिया जानु हैन त्यतिकै भनेको हैन रहेछ भनेर, हरेक प्रकृयामा डर, तनाव आउने रहेछ । सायद कोरिया आउनुहुने सबै लाईनै हुनुपर्छ यस्तो । बेलुका पाँच बजे परिक्षण रिपोर्ट लिन अस्पताल हानिए मनमा डर अनि थोरै आशा बोकेर । अस्पताल पुगेँ हातमा कुपन बोकेर रिपोर्ट लिने लाइनमा फेरि बिहान जस्तै उभिए हेरे रिपोर्ट लिदै कोही खुसी त कोही दुखी हुँदै निस्किदै थिए झन मनमा कत्रो डर आउन थाल्यो बल्ल मेरो पालो आयो कुपन दिए हातमा रिपोर्ट थमाइदिए हेरे नेगेटिभ पाए लामो सास फेरे बाहिर निस्के धन्यबाद भने तर कसलाई थाहा भएन ।
बेलुका आफन्तजनहरू सँग देश छोड्नुको पीडा अनि विदेशले आउनु भनेर दिएको स्विकारेको खुसीको क्षणलाई एकछिन कुराकानी र रमाइलोमा बदलिऊँ भनेर सामान्य जमघट गरेउ त्यस साँझ आकाशबाट अलिअलि पानीको छिटा परिरहेको रहेछ जब म बाहिर निस्के त्यही बेला अलिकति पानीले छोएको थियो र चिसोले बेस्सरी मुटु कापेको थियो । त्यही चिसो बिहानको टाउको दुखाईलाई थप औषधि पुगेछ जब भित्र छिरे अनि एकछिन बसेको मात्र के थिए अचानक कहि नभएको काम ज्वरो सुरु भयो । धेरै असह्य भएपछि म कसैलाई केही नभनी बेडमा पसेर सुते एकछिन निदाएछु तत्पश्चात आफन्तहरू के गर्नुभयो कतिबेर बस्नुभयो, थाहा भएन । राति बिउझिदा उस्तै जाडो, शरीर काँपिरहेको, ज्वरो उस्तै, शरीर भारी भइरहेको थियो जसोतसो रात कटाए अनि बल्ल बिहान भएपछि उठेर नजिकमा रहेको मेडिकल गए चेकजाँच गरे अनि झोलाभरी औषधि बोकेर आए । बेलुकीको उडान छ ज्वरोले आखा हेर्न सकिरहेको थिएन, शरीर अझै शिथिल । डाक्टरको सल्लाहमा एउटाको ठाउमा दुईवटा गोटी खादै परदेशिनुको लागि सकि नसकि सामानहरू मिलाउन सुरु गरे जागर भने फिटिक्कै थिएन । मिल्ने भए फेरि घर फर्किने मन बेस्सरी लागेको थियो । तय गर्दैगरेको गन्तव्य एकातिर मेरो परिस्थिति अर्कोतिर, घरपरिवारको सपना अनि पुरा गर्ने मेरो चाहाना हरुलाई सम्झे, सम्झे अबको यात्रा कस्तो होला अनि जहाजमा फेरि ज्वरोले समायो भने ? दिन ढल्दै गयो । केही समयपछि औषधिले काम गर्दै गएको होकि भन्ने आभास भयो शरीर अलिअलि हलुँगो हुन थालेको होकि भन्ने महसुस हुन थाल्यो, थोरै भए पनि आखाँले हेर्न मिल्ने हुँदै गयो । साँझले इसारा गदै गएको थियो मेरो सात बजेको उडान लगभग तिन बजे तिर कोठा बाट बिदा हुदै यात्रा सुरुगरे । विमानस्थलमा मलाई बिदाई गर्न आउनुभएका आफन्तहरू सँगको हात हल्लाई, पहिलो परदेश, घरपरिवार अनि देश छोड्नुको पीडा, मनभरि नेपालको याद, जबरजस्ती रोकिएको आँशु, ज्वरो सँगको यात्रा, झोलाभरी औषधि, मनमा न खुसी न उत्साह उस्तै भारी मन लिएर बिनानस्थल भित्र छिरे सम्झे बिसन्चो यात्रा कहाँ सम्म अनि कहिले सम्म ।
सबै प्रकृया सकिएपछि । जहाज भित्र प्रवेश गरियो अनि सुरु हुन लाग्यो आकाशको यात्रा । मलाई कुनै नौलो भने लागेको थिएन किनभने म देशभित्रको जहाजी यात्रा धेरै पटक गरिसकेकोले होला उस्तै अनुभव तरपनि बिसन्चो शरीर त्यसमाथि परदेश को पहिलो बसाइ मनमा अनेकौं कुराहरू खेलाउदै यात्रा जारी रह्यो । भाग्यवस जहाजभित्र धेरै ज्वरोले भने सम्झिएन बीचबीचमा खानुपर्ने औषधि खाए । रातिको समयमा खानेकुरा आयो तर मलाई कुनैको न स्वाद मिठो लाग्यो न बासना त्यतिकै फर्काइदिए अनि थोरै पानी पिएर सुते । लगभग बिहानको साढे चार बजेको हुदोहो कोरियाको विमानस्थलमा अवतरण भयो । राति खासै केही नखाएकोले होला सायद अलि भोक लागेकोले गर्दा अवतरण पश्चात एकछिनको समयमा झोलाबाट रमपम चाउचाउ निकालेर खाँए अनि पानी पिए अलिक हल्का महसुस भयो भोकको तर फेरि घाँटीमा भने गाह्रो भैइरहेको महशु गरे । थुक निल्न र पानी पिउन पनि निकै गाह्रो भएको थियो । सम्झे अर्कै थपिएछ । कोरियाको विमानस्थल बाट सबैजना बाहिर निस्केपछि तिन, चार ओटा बस तयारीमा थियो र त्यहीँ बसमा हामी सबैलाई चढाइयो । लगभग तीनचार घण्टा बसको यात्रा पछि हामीलाई तालिम केन्द्र ल्याइयो । मलाई भने फेरी अर्को चिन्ता सुरु हुदै थियो किनकि यहाँ नि फेरी स्वास्थ्य परिक्षण गरिनेछ र रिपोर्ट नराम्रो आएमा नेपाल जानुपर्नेछ भन्ने थाहा थियो त्यसमाथि म बिसन्चो थिएँ । त्यो दिन सबै स्वास्थ्य परिक्षण सकियो अनि काममा कसरी सुरक्षित अपनाउन सकिन्छ भन्ने सिकाई हरुको तालिमहरू सञ्चालन सुरु भयो । तालिम अवधिभर भने त्यहाँको खाना खान सकिएन सबै कोरियन परिकार भएर होला सबै गन्ध मात्र आउने सायद बिरामले गर्दा नि हुन सक्छ मलाई । त्यही खानाहरू जबरजस्ती अलिअलि खाइयो सुत्नेकाम गरियो सायद यो बेला सम्म घर परिवार सँग सम्पर्क गर्न सकिरहेको थिइन । भोलिपल्ट बिहान सबैको स्वास्थ्य परीक्षणको रिपोर्ट राम्रो आयो भनेर खवर सुनाइयो त्यसपछि भने बल्ल मनमा शान्ति मिल्यो र अब कोरिया बसाइ होला भन्ने महसुस हुदै गयो ।
दोस्रो दिनको आदि समय तालिमको रह्यो र दिउसो खानपिन सकेर सबैजना आ आफ्नो कम्पनीको साहु हरूको लिन आउने प्रतीक्षामा बसिरह्यौ । त्यो समय त्यो क्षणमा साँच्चै नमिठो लाग्यो हामी नेपाली कुनै खसी बजारमा राखेर मोलमोलाइ गरिरहेको जस्तो अनुभव रह्यो अनि सम्झे हामी माथि लगानी छ, रोजगार दिएको छ, यसले घरपरिवारलाई खुसी दिन सकेका छौ धेरैले धेरै सपनाहरू यहीँ आएर पुरा गरिरहेका छन सायद हामिले यतिमै चित बुझाउनु पर्ने होला भनेर मन बुझाए अनि सुरु भयो सम्बन्धित कम्पनीको साहु अथवा कर्मचारी आउने क्रम नाम बोलाउने अनि साथमा लिएर जाने जेहोस् यो वातावरण नियाल्दा चाही मनमा खल्लो महसुस हुनेरहेछ । लगभग अन्तिम तिर बल्ल मेरो पालो आयो अनि उसैगरी म नि आफ्नो झोलाझ्यामटा बोकेर साहुँको पछिपछि लागे गाडिभित्र सबै सामान लगाए अनि मलाई जुस पानी र अर्कोचाहिँ कफी रहेछ अहिले थाहा हुदैछ त्यो मलाई दिएपछि हाम्रो यात्रा सुरु भयो । बिचमा साहुँको छोरो रहेछ अहिले थाहा भयो त्यो बेला खुबै बोल्न मन गरेर के के सोधिरह्यो हाम्रो कम्पनीमा चार जना नेपाली मान्छे छन् भनेर नाम भन्यो अनि अलिक मेरो मन हलुँगो भयो नेपाली नि रहेछ भनेर । मलाई कोरियन भाषा भनेको नढाँटी भन्नुपर्दा आन्यङहासेयो र खाम्साहानिदा भन्दा अरु खासै नआउने न बोल्ने बानी न संगत घरमा एक्लै पढेको मान्छे । सकेजतिको थोर धेर जवाफ दिदै यात्रा जारी रह्यो । त्यो बेला सम्झिन लायक एउटा कुराले अहिले सम्म पनि बेलाबेला हास उठ्छ कुरो हो त्यो साहुँको छोराले मलाई सोधेको, बिहे गरेको छ ? मेरो उत्तरमा छ भन्दै गए अनि छोराछोरी कतिजना छ ? मैले भने एक जना छ । छोराकी छोरी ? मैले भने छोरा छ । अनि कति वर्षको छ ? यो बेला चाहि खै म अतालिए वा के भयो मेरो जवाफ मा बत्तीस भनेछु अनि त्यो हास्यो अनि सम्झ्यो होला भाषा नआउने रहेछ भनेर त्यसपछि मलाई सुत सुत भन्यो अलिअलि त खुसीनै लाग्यो तर मनमा झ्यालबाट कोरिया हेर्ने रहर । म पनि अर्कोतिर कोल्टे फर्केर आखा छलेर झ्यालबाट बाहिर हेर्दै गरे, सम्झे नेपाल आफ्नो देश अनि यहाँको फरक वातावरण हरु, सडक विशेषतः ट्राफिक लाइटको पालना, न ट्राफिक छ बाटोमा । त्यो बेला खुब सम्झे काठमाण्डु अनि अरु नेपालका शहरहरू । लगभग दुई घण्टा जतिको यात्रा पछि बिचमा खाना खाँउ भनेर यात्रा रोकियो अनि सोधियो बङ्गुरको मासु खाने भनेर मैले हुन्छ भन्ने खालको संकेत गरे त्यसपछि मलाई मासु र उसले के खायो थाहा भएन । त्यो पश्चात फेरी सुरु भयो हाम्रो चुपचापको यात्रा मलाई लाग्यो निकै टाढा पर्नेरहेछ भन्ने । यात्रामा रोडको अवस्था, ट्राफिक लाइटको पालना, जँगल व्यवस्थापन साथै घरहरूको बनावट यी सब मेरो लागि नयाँ र अनौठो नै रह्यो । नियाल्दै जाने क्रममा झण्डै फेरी दुई घण्टा जतिमा बल्ल कम्पनी पुगियो भन्ने संकेत आयो अनि देखायो हातले यहीँ हो कम्पनी र कार्यालय भनेर त्यो बेला सायद दिउसोको तिन बजेको हुदो हो राम्रो सँग याद हुनसकेन । अव भने फेरी मेरो मनमा अर्को ढ्याङ्ग्रो बज्न सुरु भयो । कार्यालय हेरे कार्यालय जस्तो छैन, कम्पनी हेर्छु मेरो कल्पनाको कुनै कम्पनी जस्तो देखिदैन । देखिन्छ त केवल पुरानो घरमा कार्यालय अनि खुलाचौर जस्तो थोत्रो सामानहरूको डङ्गुर, खुल्ला आकाश सँगै एउटा सानो सरसफाइ नगरिएको कोठा । त्यसपछि मलाई लगियो एउटा कोठामा अनि अलिअलि सरसफाइ गर्न सघायो अनि बाकि सबै आफैले गरे अनि झोलाहरू राखेँ कोठा भित्र त्यस बखत एकजना नेपाली दाइ आउनुभयो अनि उहाँ सँगै कार्यालय गए केही ओछ्याउने र ओढ्ने कपडा साथै काम गर्दा प्रयोग हुने कपडाहरू, जुत्ता लिएर म कोठा मिलाउन तिर लागे भने दाइ पुनः कामतिर लाग्नुभयो । कोठा जानेजति व्यवस्थापन गरे अनि सामान मिलाए र सोचे कोरिया आकाश र पातालको फरक कहाँ नेपाल हुँदाको कल्पना कहाँ वास्तविकता । सोचेको कोरिया अनि नआउने हरुले भन्नेगरेको कोरियामा कहाँ फरक फरक । एक्लै कोठामा बसिरहे धेरैकुरा मनमा खेलिरह्यो, जिवन को पहिलो परदेश, अनौठो ठाउँ, एक्लोपन को आभास, धेरै लामो यात्रा अव कसरी बिताउने होला । कता कता निस्सासिएको जस्तो अनुभव मनमा लागिरह्यो आफैले आफ्नो मनलाई बलियो बनाउन बाहेक केही थिएन त्यो बेला ।
जब दिन ढलेर साँझ पर्दै गयो अनि दाइहरू काम सकेर मलाई बोलाउदै हास्दै आउनुभयो सामान्य गफगाफ भयो सबै सँग पोखरा, पाँचथर, डडेल्धुरा र बझाङको हुनुहुदो रहेछ । एकछिन पछि कोही नुहाउन त कोही भान्सा तिर बेलुकीको खानाको तयारी तिर लाग्नुभयो । मैले यी सबै गतिविधिहरू अनौठोको साथ नियालिरहे, हेरे सवै जनालाई फोहरी, हिलै फुस्रै भएको न कम्पनीको कुनै कपडा (ड्रेस) देखे झन अनौठो लाग्दै गयो । सबैले मलाई बोलाउनुभयो म पनि भान्सातिर गए चिनजान गरे सबै मिलनसार र सहयोगी खालको भेटे । सबैले मिलेर भान्सा तयार गरि बेलुकीको खाना सँगै खायौँ र भोलि बिहान सात बजे काममा जाने सल्लाह दिनुभयो अनि सबैजना आ आफ्नो कोठातिर लाग्नुभयो अनि म नि लागे । सुत्ने कोसिस गरिरहे तरपनि मनमा धेरैकुरा खेलिरह्यो भोलिको काम कस्तो होला, साहु कस्तो होला अनि सँगै काम गर्ने साथीहरू कस्तो होला ? नेपालमै हुँदा सुनेको साहु कडा हुन्छ रे । पुराना साथीहरूले नयाँ लाई हेप्छन् रे । यी सबले गर्दा मान्छे डिप्रेसनमा पुगेर आत्महत्या गरेको थुप्रै समाचारहरू सुनेको थिए त्यसकारण नि भोलिको दिन कस्तो होला भनेर मनमा कुरा खेलिरहन्थ्यो । घरमा परिवार सँग फेसबुक म्यासेन्जर मार्फत कुराकानी गरे सबै कुरा साटेँ अनि भने दुईचार दिन अब म मेरो अनुहार र म बसेको कोठा देखाउन सक्दिनँ है, मान्छे त्यतिकै कोरियामा आत्महत्या नगर्दो रहेछ भने । खै के मनमा त्यस्तो आएर भनिहाले, उता यी सबै सुनेर अनौठो मान्दै स्वीकार गरिरहे । आज आएर त्यो बेला मैले के भनेको होला के बोलेको होला जस्तो लाग्छ । यस्तै कुरापछि म निदाएछु त्यो रात ।
भोलिपल्ट बिहान ६ बजेको अल्लारामले निन्द्रा बिथल्यो अनि जुरुक्क उठेर हातमुख धोएर आफ्नै पुराना कपडा लगाए, साइज नमिलेको जुत्ताको तुना कसेर सोही चारजना दाजुभाइ को पछिपछि लागे सोचे कोरियाको काम त्यसमाथि पहिलो दिन, जब सामान्य गेट बाट प्रवेश गरियो अनि सबै कुरा नियाले देखे आकाश ओढिरहेको कम्पनी, छरपस्टै परेको पुराना थोत्रो सामान हरुको चाङहरू, घाम र पानीको खुल्ला बाटो अनि कामहरू छरपस्ट । त्यो बेला मनमा धेरै कुराहरु खेले मैले नेपालमा छोडेको पेशा, घरपरिवारको याद अनि कहिले काही बाटोमा हिँड्दा झलक्क देखिने फाटा कम्पनी । मैले पहिलानै सोच्न त सोचेको थिए तर यतिको होला भन्ने मनमा कदापी लागेको चाहि थिएन । धेरै प्रकारको कामहरू मध्ये त्यो दिन एकजना भाइले मलाई एक खालको काम सिकाउन थाल्यो सायदै त्यो कम्पनीको सजिलो मध्ये एउटा काम थियो तर त्यहीँ काम मैले यो उमेर सम्म न छोएको थिए न गरेको देखेको थिए कहिल्यै । अनि काम गर्नथाले सोच्थे बेलाबेला के म कोरियामा नै त छु । त्यो दिन जसोतसो दिन कटाइयो । बेलुकी कम्पनी वरिपरि आखा घुमाए हेरे हाम्रै नेपालको कुनै पहाडको गाउँ जस्तै लाग्थ्यो अनि बेलाबेला दाइहरू सँग जिस्किएर भन्थे के यो कोरिया नै हो त ? दाइहरूले भन्नुहुन्थ्यो भाइ यो कोरिया नै हो र हामी यही छौ अनि बिस्तारै बानी परिन्छ । धेरै चिन्ता लिनुहुन्न, यहाँ आउनु ठूलो कुरा हो । त्यो बेला सम्झे हो है कति धेरै नेपालीहरू आउन नसकेर, नपाएर दुखित छन म त जसोतसो आएको पो छु त ।
कम्पनी भनेको सबै पुरानो सामान हरूलाई बाहिरबाट ल्याएर पुनः प्रयोग गर्न सकिने सामानहरू छुट्याउने र संकलन गरि फेरी बाहिर पठाउने रहेछ । त्यो खुल्ला आकासमुनि ४२ डिग्री सम्मको घामको ताप अनि एक थोपाले भिजिने पानी, हिलाम्मे काम, माक्स हरुबाट छिर्ने नमिठो गन्ध हरुमा काम सिक्दै, गर्दै गरिरहे । कहिले कामको टुंगो नहुने, जे भन्यो त्यहीँ गर्नुपर्ने, साहु उस्तै किचकिचे मनमा थोरै नि मानवता नभएको जस्तो लाग्थ्यो । सबै काम छिटो गर्नुपर्ने फोहरी, गाहोँ र अप्ठेरोमा काम ग¥यो भने खुसी हुने । त्यस्तो मस्त तातो घाममा उभिएर काम गर्नुपर्ने बेलाबेला ढलिन्छ कि भन्ने डर न आरामको समय छ, मस्त वर्षामा रुझेर काम गर्नु, काममा धेरै त हम्मर र ड्रिल चलाउनु पर्ने । कहिले नचलाएको मान्छे जसोतसो चलाउँदै सिक्दै गए, धेरै पटक हम्मरले औंला र हातमा हानेर आखा रसाएको थियो । एकपटक काम गर्ने क्रममा ड्रिलले हातको नाडीमा प्वाल पारेको छु त्यो बेला खुब नमिठो लागेको थियो कार्यालय गए देखाए तर सामान्य टेप मात्र लगाई दियो अस्पताल जाने कुरै गरेन । गर्मीको समय घाउमा टेप झन दुखेर सबै टेप आफैले निकालेर फालिदिए त्यो बेला कालो रगत बगेर गयो अनि खुल्ला नै छोडिदिए अहिले एउटा चिनो बनेकोछ । एक दिन पानि परिरहेको बेला छानामा जानेक्रममा चिप्लीएर एउटा पाईपमा अल्झेर ठूलो चोट लाग्नु बाट बचेको नमिठो सम्झना पनि छ । कम्पनी सानो, मान्छे थोरै, न नियमअनुसार कामको तलब, न रातो बिदा, न मलाई तिन महिना सम्म थप काम, एक छान खाना दिने बसेको पैसा काट्ने, यो सबले गर्दा मनमा आनन्द चाहि थिएन ।
एक दिन नि बेलुकीको खानपान गरियो सदाझैँ सबैजना कोठा छिरियो तर मेरो मनमा धेरै कुराहरू खेलिरहे अनि त्यहीँ रात बाट मैले कम्पनी परिवर्तन गर्ने निर्णय गरेर सोचे म यहाँ बसे भने न आनन्दले काम गर्न सक्छु, न कोरिया देख्न सक्छु न सामाजिक बनेर बस्न सक्छु । मेरो लागि पैसा अति आवश्यक छ यो बेला, तर सबैथोक पनि हैन जस्तो लाग्थ्यो अनि म कोरियामा रहन्जेल पैसा मात्र हैन सामाजिक जीवनयापन पनि गर्न चाहन्थे । दाई हरुलाई कुनै बेला जिस्किएर सोधिरहन्थे तपाईँहरू किन कम्पनी परिवर्तन नगर्नु भएको ? कोरिया हेर्ने मन र रहर छैन ? सबैले आ आफ्नै बाध्यताहरुको घुमाउरो जबाफहरू दिनुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो परिवर्तन गर्न दिन्छ मन छ भने परिचय पत्र बनाइदिए पछि जान सक्छौ भनेर केही उपायहरू बताइदिनु हुन्थ्यो । यस्तै क्रम चलिरह्यो सबैजना मिलनसार अनि सहयोगी हुनुहुन्थ्यो , बेलाबेला रमाइलो गरिरहन्थ्यौ । यो बेला पनि सबैलाई सम्झिरहेको छु ।म आएको दुई महिना बित्यो, दुईहप्ता थपियो तर मेरो परिचय पत्र बन्ने सुरसार भने देखिएन । मेरो योजना चाहि बनाइदे नभन्ने हो तर बनिसकेर हात लागेपछि चाहि कम्पनी छोड्ने नै हो । एक दिन बल्ल भन्यो आँउदो शुक्रबार जानुपर्छ भनेर, त्यो दिन सम्ममा म आएको दुई महिना छब्बीस दिन भैइसकेको थियो । नब्बे दिन हुनै लागेको थियो अब भने जसरी नी बनाइदिनैपर्छ । शुक्रबार आयो काम सकेर लग्यो कार्यालय पुगियो तर साहु लाई प्रकृयाहरू परिवर्तन भएको थाहाँ नै थिएन रहेछ बरु मलाई थाहा थियो परिचय पत्र बनाउनको लागि पहिला नै अनलाइन फारम भरेर समय लिनुपर्छ भन्ने । त्यो दिन हामी त्यतिकै फर्कैउ मलाई भने मनमा कता कता रिस उठिरहेको थियो जादाको एक खालको खुसी सबै गायब भयो ।अर्कोदिन सोमबार फेरी काम सकेर पाँच बजेतिर मलाई लग्यो अनि कागजपत्रहरू बुझायो बल्ल अलिक मनमा शान्ति मिल्यो । एक हप्ता पन्ध्र दिनमा आउनुपर्ने परिचयपत्र निवेदन गरेको बिस दिन बित्यो बाईस दिन बित्यो तर मेरो हात परेन, अनि मेरो भाषा राम्रो नभएकोले दाई हरुलाई बुझ्न लगाए तर जवाफ मा त अहिले किन चाहियो ? म फुर्सद भएको बेलामा लिन जान्छु । कि आफै जाने भए जादा हुन्छ म जाने बाटोको नक्सा दिन्छु । यति भने पछी म आफै भोलि जाने निधो गरी त्यस रात सबै नक्साहरू आफै खोजेर तयार गरि बिहान काममा नजाने निर्णय गरे । बिहानै ट्याक्सीलाई बोलाएर गए अनि लिएर आए त्यो बेला एक लाख बिस हजार कोरियन वन खर्च भएको थियो तर मलाई पैसा गएकोमा भन्दा गोजिमा परिचयपत्र परेकोमा खुसी थिए किनकी मैले जसरी हुन्छ छिटो त्यो ठाउँ छोड्नु नै थियो त्यसको लागि मलाई अति आवश्यक भनेकै त्यही थियो । त्यसको भोलिपल्ट अलिक कुरा गर्न अवसर हेरे तर मिलेन अनि पर्सिपल्ट जव साहुले काम लगाउन आयो त्यही मौकामा भन्नुपर्छ भनेर हत्तपत्त भनिहाले साजाङनिम म यहाँ काम गर्न सक्दिनँ त्यसैले अरु ठाउँ जान चाहन्छु । जवाफ, मा ठिकै छ जा तर अर्को मान्छे ल्याउन तिन महिना जति लाग्छ । अनि दाई हरुलाई नि त्यस्तै भन्यो । जब साँझमा सबैजना सदाझैँ भान्सामा सँगै भइयो अनि दिउसो भएको सबै कुरा साटे सबैसँग दाई हरुले छिटो पठाउन सक्ने केही उपाय र सल्लाह दिनुभयो । उपायअनुसार लगभग एक हप्ता जति साहुलाई चिड्याए, काम बिस्तारै गर्ने, जुन कुराले रिसाउँछ त्यही कुरा गर्नथाले तर त्यो हप्ता बित्यो केही बोलेन न त गाली नै गप्यो। अर्को हप्ता सुरु भयो, फेरी हाम्रो सल्लाह र उपायअनुसार अझै चिढ्याउने तिर लागे सबैले छिटोछिटो गर्नुभयो म भने उभिएर ढिलो गर्नथाले । म चाहन्थे जे जे गाली गरे पनि सबै सहन तयार तर जसरी हुन्छ रिस उठाउने र जा भन्न बाध्य बनाउने थियो । मैले एकछिन मात्र के काम गर्दै थिए एक्कासि जान्छस् ? जाने भए जा भन्ने आवाज गाडी माथि बाट आयो अनि मैले खोजेकै त्यही जान्छु तर मलाई अनुमति कागज दे भने, अनि जा म फ्याक्स गरिदिन्छु भन्ने आवाज आयो । त्यसपछि म काम छोडेर कोठा आए सबै सामान मिलाएर अनि भोलि बिहानको प्रतीक्षामा बसे । काम छोडेपछि कहाँ जाने कसरी बस्ने भन्ने बारे पहिलानै यहाँ रहेको दाजुभाइहरू सँग अनुभव साटिसकेको थिए र त्यसै गर्छु भन्नेमा ढुक्क बसे ।
बिहान सबै दाजुभाइ सँग बिदा मागेर म कोरियाको अर्को यात्रा तिर निस्के । मनमा अलिअलि डर हराउँछु कि भन्ने अनि थोरै खुसी बोकेर लागे कोरियाको राजधानी सउल हुँदै नेपालीहरूको धेरै जमघट हुने ठाउँ र धेरै कम्पनी भएको शहर खेङगिदोको ह्वासाङ तिर । ट्रेनको पहिलो अनुभव, ठूलो शहरको बाटो न भाषामा पोख्त जसोतसो हाम्रो उदयपुरकै रेष्टुरेन्ट साथै काम छोड्दा बस्ने सेल्टर थियो त्यहाँ सम्म आइपुगे । कम्पनी छाडेको पाच दिन पछि बल्ल अनुमति पत्र आएको थाहा पाए त्यस पछि रोजगार केन्द्रमा सबै प्रकृया पुरा गरेर नयाँ कामको खोजीमा सेन्टर बस्दै, कम्पनी र काम हेर्न सुरु गरे म जस्ता धेरै साथीहरू पनि थिए र उनीहरूको पनि काम हेर्न जान्थे, मेरो पनि धेरै हेरे तर मलाई भने कहिल्यै राम्रो काम र कम्पनी भने भटिएन समय बित्दै गयो मनमा तनाव बढ्दै गयो । सेल्टरमै रहँदा नेपालको दशैँ सकियो तिहार, सकियो यता म अझै बेरोजगारी । परिवारको जिम्मेवारी, यता बढ्दै गरेको थप खर्च, काम नभेटिएको अवस्थामा तनावहरू झन दिनानुदिन बढ्दै गए । धेरै जसो खाली समयमा मन धेरै नडुलोस भन्न खातिर साथिहरु सँग पुल र तास खेलेरै तनावलाई कम गर्ने प्रयास गरिन्थ्यो । सेल्टर बसाइको लगभग दुई महिना अठार दिन सकियो यो समय सम्म न कुनै भनेको जस्तो काम पाए न कुनै कम्पनी तर यो अवधिमा भने जीवनमा भुल्नै नसक्ने नमिठो अनुभव, सिकाइ, मान्छेको संगत, विश्वासको हद, आशा र भरोसाको सिमा, तनावको तह, परिवारको माया अनि आट दिने शब्द, कोरियाको रोजगारी अवस्था र वातावरण राम्रोसँग बुझ्ने अवसर भने पाएको छु । कसैले काममा लगाइदिन्छु भनेर दिएको जीवनकै थप पीडा, सँगै सुतेको साथीले दिएको धोका र हैरानी कहिल्यै भुल्न सकिने छैन । मनमा अरबै तनाव र चिन्ताहरू हुँदाहुँदै पनि सबैलाई दबाएर भिडियो कलमा बनावटी हसिलो अनुहार बनाएर परिवारमा धेरै पटक काम चलाएको छु जुन मेरो तनावले परिवारमा थप तनाव नहोस् भन्ने चाहन्थे । काम र कम्पनी भने जस्तो नपाउँदा, सोचेजस्तो केही नहुदाँ धेरै तनावहरू सामना गर्नुपर्ने रहेछ अनि त्यहीँ तनाव लाई जालो बनाएर जाल हान्ने नेपालीहरू पनि धेरै भेटिँदो रहेछन् । काम खोजिदिने, लगाइदिने, आफ्नै कम्पनीमा बोलाउँछु भन्ने बहाना गरेर पैसा माग्ने, पठाउन लगाएर फसाउने नेपाली ठग, दलालहरू धेरै हुनेरहेछन् । नचाहँदा नचाहँदै त्यस्ताहरू सँग पनि राम्रो सँग सामना गर्ने अवसर पाएको छु । जसको कारण तनावको तहको अन्तिम खुड्किला थपिदिएको थियो जुन म यो धर्तीमा जीवित रहुन्जेल सायद भुल्न सक्दिनँ होला । त्यसकै कारण सेल्टर बस्ने क्रममा कति मिल्ने साथीहरू सँग संगत छाडे कतिलाई ब्लक गरे त कतिलाई खोजी गरिरहे यो बारे छुट्टै एउटा लेख बन्न सक्छ जीवनमा । किनकी मनमा नमिठो छाप छोडेर जानेहरू धेरै छन् । यहीँ पीडा, दुखहरूलाई सान्त्वना र साहस दिने परिवार अनि ठूलो समस्या परेको बेला भाइहरू गोपी र पवनको सहयोग लाई भुल्न सक्दिनँ ।
जब तोकिएको समयसिमा अन्त तिर नेपालमा सँगै पढेको साथीसँग अचानक बेलुकातिर कुरा हुन पुग्यो अनि उसको र अहिलेको कम्पनीको एकजना दाइ मार्फत यो कम्पनीमा आइपुगे र अहिले यहाँ काम गरि रहेकोछु । काम ठिकै छ कम्पनी ठिकै छ मन खुसीनै छ । अनि सामाजिक बन्नु र सामाजिक जीवन जिउनु पर्छ भनेर हाम्रै जिल्लाको उदयपुर सेवा समाज संस्थामा पनि अहिले आबद्ध भएको छु । धेरै साथीहरू सँग चिनजान हुने क्रम जारी छ । दुख सुखहरु साटासाट पनि सुरु गर्दैछौ । यहाँ काम सुरु गरेको लगभग एक महिना नहुँदै अकस्मात् एक दिन थोरै कम्मर दुखाई भएको थियो त्यो सामान्य ठाने अनि बिस्तारै सर्दै खुट्टातिर गयो र धेरै नै दुखाई सुरु हुन थाल्यो अनि झमझमाउने हुँदै, विस्तारै राम्रो सँग बस्न पनि गाह्रो हुँदै गयो । मैले सम्झे उभिएर काम गर्ने बानी नपरेकोले होला भन्ने लाग्यो तर एक महिना हुँदै दुई महिना सम्म लगातार दुखि रह्यो घट्ने त कुरा भएन झन बढ्दै गयो अनि अस्पताल जाने निधो गरेर गए एक्सरे गरियो, सुई सँगै औषधि दियो तर पनि काम गरेन । औषधि प्रयोग गरिन्जेल सन्चो भएको अनुभव हुने अनि फेरि उस्तै अवस्था । सुईको दुखाई पनि जीवनकै पहिलो भोगाइ बन्यो । रातिको काम लगातार उभिएर गर्नुपर्छ कुनै समय त दुखाईको हद पनि धेरै हुने गथ्र्यो आखा चिम्लेर मन बलियो बनाएर सहे पनि घरी घरी भने नचाहेर पनि आखा बाट थप्प थप्प आशु चुहिन्थ्यो । यसरीनै धेरै रातहरू काम गर्दै कटाएको छु । सम्झिन्थे ! जिन्दगी दुख सँग नलडी, पीडाहरू सँग नखेली, निराशा को अनुभव नलिई, बिना संघर्ष के जिन्दगी भनेर मन बुझाउँथे । न पीडा पोखेर सुनिदिने साथी न पीडा सुनाउने समय । छ त केवल तोकिएको खाने समय, बस्ने समय, सुत्ने समय । न पीडा र थकाईमा बस्न सकिन्छ न आराम गर्न सकिन्छ । समयमा नखाए भोकै र समयमा नसुते अनिदो । यो सब मेरो जीवनको भोगाइ हो मैले नसहे जीवन जस्तो हुदैन भन्ने लाग्थ्यो र निरन्तर सहँदै गए । दिनको काममा पनि उस्तै दुखाई न लामो समय आराम गर्न मिल्ने, न आज सकिन गर्दिन भन्न मिल्ने । अरुको हली भएपछि सकी नसकी हलो तान्नै प¥यो । घरी घरी आरामको समयमा सम्झिन्थे यति दुख सहेर कमाएको पैसा त एक रुपैयाँ पनि खेर गयो भने नमिठो लाग्ने रहेछ तर के गर्ने आ आफ्नो व्यवहार र बाध्यताहरू खर्च नहुने कुरै हुन्न । दुई तिन हप्ता औषधि खादै काम गरे तर पनि प्रयोग गरिन्जेल सम्म ठिकै अनुभव हुने अनि फेरी दोहोरिने । अब भने मनमा अझै डर बढ्दै गयो अनि बिदा मिलाएर अर्को अस्पताल गएर एमआरआई गरेर हेरे कम्मरको जोर्नीको नसामा समस्या छ तत्काल उपचार गरिहाल्नु पर्छ भन्यो । यो बेला मैले केही सोच्नै सकिन हतास भए । उता डाक्टर भनाउँदा उपचारको लागि मोलमोलाइ सुरु गर्दै थियो । अहिले गरे यति लाग्छ, पछि आए यति पैसा लाग्छ भनेर । मलाई अचम्म लागेर आयो यहाँ मान्छेको ज्यान सँग मोलमोलाइ हुनेरहेछ भनेर अनि सोचे किन यसो भन्दैछ कि मेरो समान्य नै होर भन्ने लागेर अहिले पैसा छैन पछि फेरी आउँछौ भनेर फर्कैउ । साँच्चिकै त्यत्रो पैसा थिएन पनि । आउने बेलामा व्यक्तिगत मोबाइल नम्बर दिएर पठायो । कोठामा साथिभाईहरु कसैले तत्काल उपचारको लागि नेपाल जाने, कसैले केही समय औषधि खाएर व्यायाम गरिहेर्न, कसैले के कसैले के धेरै थरिको सल्लाहहरू दिए । सबैको कुरा सुने अनि आफ्नै निर्णयमा एकपटक नेपालको डाक्टर सँग नि परामर्श लिन मन लाग्यो अनि अनलाइन मार्फत समय मागेर परामर्श लिए । डक्टरले सबै रिपोर्टहरू हेरिसके पछि डराउनुपर्ने अवस्था केही छैन केही समय औषधि खादै आराम गरे सायद अलिक राम्रो हुनसक्ला कि भन्ने सल्लाह अनुसार नेपालबाट औषधी मगाएर अहिले खादै आराम गरिरहेको छु । थाह छैन यो पछि के आइलाग्छ ।
नेपालमा हुँदा देखिने एउटा सपनाको कोरिया, छिमेकीले ठूलो प्रगति गरेको देखेर पैसाको बोट नै फल्ने रहेछ लाग्ने कोरिया कल्पनाहरू भन्दा परको छुट्टै एउटा वास्तविकता रहेछ । कम्पनी अनुसार आठ देखि चौध, पन्ध्र घण्टा सम्म रातदिन निरन्तर एउटा मेसिनको गोठालो बनेर, आवाज हरुलाई गीत सम्झेर, चोट लाग्छ कि भनेर नथाकी हेरिरहने अनिदो आखा, थाक्यो भन्न नि नपाउने हात र खुट्टाहरू, निस्सासिएको मन अनि शिथिल भएको शरीरले कहिल्यै चाहिने आराम नपाइँदो रहेछ । यहाँ उस्तै परेको बेला सँगै सुत्ने साथी सँग नि बोलचाल र भेटघाट हुन आइतबार नै कुर्नुपर्छ । धेरै जसो समय एक्लै व्यतीत गर्नुपर्ने हुन्छ अनि मनमा अनेक थरिको कुराले भुमरी खेल्छ त्यसकै फलस्वरुप यहाँ धेरै जसो अनेकथरी बिरामी र नराम्रो घटनाहरू हुने रहेछ । वर्षभरिको तनाव र पीडा भुलाउन एक दिन लामो ज्याकेटमा हिउँ खेलेर खिचेको चिटिक्कको तस्विर, सयौँ अनिदोसँग रुमलिएर खिस्स हासेर साकुरा सँग खिचेको फूलैफूलको तस्विर, शरीरमा जम्मा भएको पसिना र आशु सँगै समुन्द्र सँगको तस्विर, दुखेको मनलाई पोल्दै साथीसँग खादै गरेको साम्गेकसालको छोटो भिडियो भित्र धेरै दुख पीडा, त्याग र लामो संघर्ष लुकेको हुन्छ । पर बसेर फोटो र भिडियो हेरेर कति आनन्द र रमाइलो देखिन्छ तर कोरिया सोचे, भने र देखे जतिको सजिलो र राम्रो भने छैन रहेछ । यहाँ कामलाई मनोरञ्जनमा बदलेर जीवनयापन गर्नेहरू पनि धेरै भेटिन्छन् । आफ्नो कामको अलावा रुचिअनुसार खेल, मनोरञ्जन, कला र साहित्य, सामाजिक कार्य, बिभिन्न स्थानहरुको भ्रमण गरेर आफ्नो थकान र तनावलाई बिर्साउने गरेको पाइन्छ यसले गर्दा पनि कोरियाको ब्यस्त जीवनलाई जिउन सहज हुने रहेछ ।
छोरामान्छे को कमाईमा इज्जतको स्तर र वर्णन गर्ने हाम्रो समाज बाट जोगिन मुस्किल हुनेरहेछ । म कोरिया आएको लगभग एक बर्स हुन लाग्यो आज सम्म जोड्न सकेको भनेको यहीँ एउटा ल्यापटप, केही थप ऋणहरू अनि थोरै साथि सँगत । ल्यापटप भए खाली समय काटेको पत्तै हुदैन मलाई या लत बसेको । सुरुको तिन चार महिना सामान्य आधारभुत तलब मै काम गरे त्यसपछि कम्पनी छोडे, अर्को तिन महिना काम बिना धेरै खर्चमा समय कटाए अनि यस कम्पनीमा काम सुरु गरे लगतै अस्पताल लाई आफ्नो सहकर्मी बनाईराछु । भेट्न नगए मलाई थोरै भएनि शान्ति मिल्दैन । उता समाजले हिसाब गर्न थालिसक्यो महिनाको तिन लाखको दरले कसै कसैले त चार लाख पो कमाउछ रे भन्ने सुन्छु यो सबै सुन्दा कता कता त आनन्द पनि आउने रहेछ । मैले कमाउन नसके पनी कमाउन सकिने ठाउमा आएकोछु भनेर । गएको एक बर्स पुगिसक्यो के के जोडिसक्यो, पैसा के गर्दैछ भन्नेहरू वरिपरि भेटिँदोरहेछ तर दुख र समस्याहरू सोधिरहने कमै हुनेरहेछ । यहाँ बिरामी हुँदा न कसैको सोध्ने फुर्सद हुन्छ न दुख बुझिदिने । यो सबैको बाध्यता नै रहेछ । सबैथोक परदेशमा एक्लै व्यवस्थापन गर्नुपर्ने रहेछ यो सबै सिकिरहेको छु । केही चिन्ता नलिनु म छुँ । हामी भन्दा सामान्य मान्छेहरू त नेपालमा जीवन चलाइरहेको छ । यहाँ पनि बाच्न सकिन्छ कोरिया नै सबैथोक होइन भनेर आँट र साहस दिने परिवारले गर्दा पनि एक्लोपन बाट बाहिर निस्कन धेरै मद्दत गर्ने रहेछ परदेशमा । सुन्दा वा पढ्दा कसैलाई सामान्य लाग्न सक्ला यो सव तर मेरो लागि सामान्य रहेन । जिन्दगीमा मान्छेलाई अनेक उत्तर चढावहरू आइरहन्छ, भोगिरहनुपर्छ अनि मात्र जीवनको अर्थ हुन्छ भन्ने सुनेको थिए सायद अबको भोगाइ मेरो समय होला तसर्थ आत्मविश्वास कायमै राखेकोछु । किनकि कसैको आशा, भरोसा र खुसी म नै हुँ ।